September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

सिद्धार्थनगरको फोहोर व्यवस्थापनमा झन चुनौती

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उत्सर्जित फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ । सर्वोच्च अदालतले डण्डा खोला किनारमा फोहार फ्याँक्न रोक लगाएदेखि नगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्थान पाएको छैन । जसले गर्दा नगरको फोहोर बस्ती भित्रै थुप्रिएको छ ।

Advertisement

नियमित फोहोर संकलन नभएको साढे तीन महिना भइसक्यो । अझैं फोहोर संकलन गरेर कहाँ फ्याँक्ने टुंगो छैन । फोहोर फ्याँक्ने ठाउँ फेला नपरेपछि नगरपालिकाले कुहिने र नकुहिने फोहोर वर्गिकरणको उपाय लगाएको छ । यसले हानिकारक फोहोर संकलनमा सहयोग मिलेको छ । तर, यसरी संकलन गरिएको नकुहिने फोहोर भैरहवा वसपार्कभित्र बोरामा राखिएको छ । यो अल्पकालीन उपाय मात्र हो ।

फोहोर संकलनको काम गर्दै आएका मजदूरका अनुसार पहिले नगरका प्रत्येक टोलमा सातामा दुई पटक ट्याक्टर पुग्थे । फोहोर संकलनका लागि ट्याक्टर आउने दिन स्थानीय बासिन्दा जागरुक हुन्थे । अहिले सातामा एक दिन पनि ट्याक्टर पुग्न सकिरहेको छैन । अर्कोतर्फ नगरका विभिन्न स्थानमा फोहोर थुपार्ने गरिएको छ ।

‘फोहोर संकलनमा समस्या देखिएपछि नागरिकले पनि बोरामा फोहोर राखेर ट्याक्टरमा हालिदिए हुन्थ्यो,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘दिनभरि व्यापार गर्छन्, रात परेपछि सडकमा फोहोर फ्याँक्छन् ।’ नगरबासीले कुहिने फोहोर पनि पोको पारेर सडकमा फ्याँक्ने गरेकाले दुर्गन्ध फैलिने गरेको छ । यसले सर्वसाधरण मर्कामा छन् ।

सामाजिक अगुवा भरतकुमार पोखरेल फोहोर व्यवस्थापनमा समस्या देखिएको लामो अवधिसम्म नगरपालिका मौन रहनु दुःखद भएको सुनाउँछन् । फोहोर व्यवस्थापन जनप्रतिनिधि र कर्मचारीको मात्र जिम्मेवारी नभएको उनले बताए । ‘नगरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी नगरपालिकाको हो,’ उनले भने, ‘तर, नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा हातेमालो गर्ने जिम्मेवारी नागरिक अगुवा, राजनीतिक दल र सामाजिक संघसंस्थाको पनि हो ।’ सहरमा फोहोरको समस्या नै छैन जस्तो गरेर सबै क्षेत्र मौन देखेर उनले आश्चर्य व्यक्त गरे । पर्यटकीय सहर भएकाले पनि छिटो फोहोर व्यवस्थापनको टुंगो लगाउनु पर्नेमा उनको जोड छ ।

फोहोरको विषयलाई लिएर जनप्रतिनिधि विभाजित छन् । नगर प्रमुखले देखेको उपाय लागू गर्न उपप्रमुख राजी छैनन् । उपप्रमुखले सुझाएको उपाय लागू गर्न प्रमुख तयार हुँदैनन् । फोहोर व्यवस्थापनका लागि वडाध्यक्षको भूमिका पनि उत्तिकैं महत्वपूर्ण छ । तर, उनीहरुले तदारुकता देखाएको पाइँदैन । जनप्रतिनिधिमा एक–अर्कालाई देखाएर उम्किने प्रवृत्ति देखिएको छ । ‘नगरपालिकाले फोहोर व्यवस्थापनका विषयमा सर्वपक्षीय भेला आयोजना गर्न सक्छ,’ पोखरेलले भने, ‘त्यसमा सबै राजनीतिक दल र सामाजिक संस्थाका प्रतिनिधि बोलाएर सहयोगका लागि आह्वान गर्नुपर्छ ।’

अहिले सिद्धार्थनगरमा देखिएको समस्या भोलिका दिनमा अन्य पालिकामा पनि उत्पन्न हुने पक्का छ । सहरीकरण र जनसंख्या बृद्धिसँगै फोहोर उत्सर्जन पनि बढ्छ । सिद्धार्थनगर र आसपासका पालिकामा औद्योगिकरण बढिरहेको छ । स्वास्थ्यसंस्था खुल्नेक्रम जारी छ । केही समयमा रुपन्देहीमै औद्योगिक र स्वास्थ्यसंस्थाबाट उत्सर्जन हुने फोहोर अर्को समस्याका रुपमा देखिने निश्चित छ । समस्या आउन नदिन अहिले नै आवश्यक पूर्वाधारको तयारी जरुरी देखिन्छ । फोहोर व्यवस्थापनका लागि यहाँ रहेका उद्योग र कारखानासित पनि हातेमालो गर्न सकिन्छ ।

केही दिन भैरहवाको रवी पथमा रहेको सराफ मेडिकल हलले पसलको सामुन्नेको सडकभन्दा पारिपट्टिको फुटपाथमा फोहोर जलाइरहेको थियो । उक्त मेडिकलकी कर्मचारीले स्वास्थ्यजन्य फोहोर संकलन गरेर आगो लगाएकी थिइन् । त्यसरी जलाएको फोहोरमा उपचारमा प्रयोग गरिएका सामग्री पनि थिए । त्यस्ता सामग्री खुलेयाम जलाउँदा स्वास्थ्यमा प्रतिकुल असर पर्छ ।

‘हामीले देखेको खण्डमा जरिवाना गर्छौ,’ नगरपालिकाका फोहोर संकलन क्षेत्रमा काम गर्ने एक कर्मचारीले भने, ‘दैनिक संकलन गर्न नसक्दा आँखा छलेर जलाउने गरेका छन् । यस्तोमा हाम्रो पनि केही लाग्दैन ।’ नगर प्रमुख इश्तियाक अहमद खाँनले फोहोर व्यवस्थापनमा पालिका निरन्तर लागिपरेको जनाए । उनले विभिन्न उपाय अपनाइएको जनाउँदै छिट्टै व्यवस्थापन गरिने बताए ।