September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

दाउरा निकाल्ने क्रममा नदीमा डुबेर युवक बेपत्ता

Advertisement

रुकुम–बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रुकुमपश्चिमको सानीभेरी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

Advertisement

सानीभेरी गाउँपालिका–१ टाउँकेलेखका २८ वर्षीय प्रेम रोकाय बुधबार बिहान नदीमा डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार बिहान करिब १० बजेतिर नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा रोकाय नदीमा पसेका थिए । दाउरा निकाल्ने क्रममा अचानक नदीमा डुबेका उनी त्यसपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

घटनाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थानीयवासीसँगको सहकार्यमा रोकायको खोजी थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले नदीमा बेपत्ता रोकायको खोजी कार्य जारी रहेको जानकारी दिए । नदीको बहावमा बगेर बेपत्ता भएका रोकायको सम्भावित स्थानमा खोजी केन्द्रित गरिएको उनले जनाए ।