August 15, 2026, Saturday
२०८३ श्रावण ३० शनिबार

सामुदायिक वनमा लुकाइएका ६ थान भरुवा बन्दुक बरामद

Advertisement

कपिलवस्तु — वाणगंगा नगरपालिका–९, जिनुवास्थित खोजीपुर सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ। वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती हतियार फेला परेका हुन्।

Advertisement

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा लुकाइएका बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार बरामद भएका हतियार कसले र कुन उद्देश्यले जंगलमा लुकाएर राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो।

प्रहरीका अनुसार बरामद सबै बन्दुक अवैध हातहतियारको श्रेणीमा रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान अघि बढाउँदै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जंगल क्षेत्रमा ठूलो संख्यामा भरुवा बन्दुक फेला परेपछि ती हतियार कुनै आपराधिक गतिविधि, चोरी–शिकार वा अन्य प्रयोजनका लागि लुकाइएको हुनसक्ने आशंकासमेत गरिएको छ। यद्यपि, यसको वास्तविक प्रयोजन अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।