सिद्धार्थनगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा


भैरहवा–युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) शिक्षण अस्पताल भैरहवाले सिद्धार्थनगर क्षेत्रका गम्भिर प्रकृतिका बिरामीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
अस्पतालमा रेडियोलोजी विभाग स्थापना भएको रजत जयन्तीको अवसरमा उक्त अस्पतालले मुटुका विरामीलाई लक्षित गरेर ल्याएको अत्याधुनिक प्रबिधिको नयाँ एम्बुलेन्सद्वारा सिद्धार्थनगरवासीलाई यो सेवा दिने भएको हो ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले रेडियोलोजी विभागको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिद्धार्थनगर क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरे । ‘नगरभित्र एम्बुलेन्स आवश्यक परेको घर घरमा पुगेर २४ सै घण्टा निःशुल्क सेवा उपलब्ध गराइने छ’ अर्यालले भने ।
नेपाल सरकारबाट प्राप्त छुट सुविधासहित ३३ लाख रुपैयाँको लागतमा ल्याइएको उक्त एम्बुलेन्समा भ्यान्टिलेटर र मोनिटर सहितको सेवा विरामीलाई उपलब्ध छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पीएसले तत्कालकालागि निःशुल्क यो सेवा सिद्धार्थनगर क्षेत्रमा गम्भिर अवस्थाका विरामीलाई अस्पताल ल्याउन र घर लैजानकालागि लागू गरिएको बताए ।
रेडियोलोजी विभागको रजत जयन्तीको अवसरमा अस्पतालमा अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान मेसिनपनि सञ्चालनमा ल्याइएको छ ।








प्रतिकृया दिनुहोस्