September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

लुम्बिनी प्रदेशमा ५१ हजार मानिस विपदको जोखिममा

Advertisement

भैरहवा—लुम्बिनी प्रदेशमा विपदको जोखिम बढ्दो छ । सतर्कता अपनाउँदा समेत बाढी, पहिरो र डुबानका कारण लुम्बिनी प्रदेशका ५१ हजार ६ सय २६ मानिस उच्च जोखिममा रहेका छन् ।

Advertisement

जोखिम पहिचान पछि प्रदेशस्थित सुरक्षा निकाय जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहेका छन् । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुसार प्रदेशका ११ हजार ८ सय १४ घरधुरी प्रभावित हुन सक्ने अनुमान गरिएको छ। सम्भावित क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यबासिनी बाहिनी मुख्यालयले उद्धार, राहत र पूर्वतयारीका कामलाई तीव्र बनाएको जनाएको छ।

बाहिनीका अनुसार सम्भावित बाढी, डुबान र पहिरोबाट हुन सक्ने क्षति कम गर्न जोखिम क्षेत्र पहिचान, सचेतना कार्यक्रम, जनशक्ति परिचालन, उद्धार सामग्री व्यवस्थापन तथा समुदाय परिचालनलाई प्राथमिकतामा राखिएको छ। विपद् व्यवस्थापन तालिम प्राप्त ३४७ जना जनशक्तिसहित ३ हजार ७ सय ५९ सुरक्षाकर्मीलाई अनुशिक्षण दिई प्रकोपको लेखाजोखा तथा परिचालन योजना तयार गरिएको सशस्त्र प्रहरी उपरीक्षक पंकज पौडेलले बताए।

तत्काल सूचना संकलन र उद्धार समन्वयका लागि प्रदेशका १२ जिल्लाका ९८३ वडामा प्रत्येक वडामा २५ जनालाई विपद् सूचकका रूपमा परिचालन गरिएको छ। त्यस्तै २७७ जनालाई विपद् स्वयंसेवक र १७५ जनालाई विपद् सूचकसम्बन्धी तालिम दिइएको छ।

विपद्को अवस्थामा तत्काल परिचालनका लागि बाँकेको शम्शेरगन्जस्थित सशस्त्र प्रहरीको ४२ नम्बर गणमा ११ जना तालिमप्राप्त गोताखोर, १७ वटा रबर रेस्क्यु बोट, ४ वटा मोटरबोट, ३ वटा मास क्याजुअल्टी भेहिकल र ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। बाहिनी मुख्यालयमा मनसुन विपद् डेस्क स्थापना गरी स्थानीय, जिल्ला र प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग फोकल पर्सनमार्फत नियमित सूचना आदानप्रदान भइरहेको छ। मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणालीसँग पनि समन्वय कायम गरिएको जनाइएको छ।

सम्भावित प्रभावित क्षेत्रलाई लक्षित गर्दै रुपन्देहीको बुटवल, बर्दियाको राजापुर, दाङ, बाँकेको कुण्डा र कचनापुर, पाल्पाको दोभान तथा गुल्मीको वामीमा गरी सात स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। साथै प्रदेशभर २६ स्थानमा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरीका बाहिनीपति डीआईजी दीपक अधिकारीका अनुसार प्रदेशभर १७९ वटा सुरक्षित आश्रयस्थल पहिचान गरिएको छ, जहाँ आवश्यक परे एक लाख ३६ हजार ४२५ नागरिकलाई सुरक्षित रूपमा राख्न सकिने व्यवस्था गरिएको छ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा बाढी, पहिरो र डुबानका ८ सय ७७ घटना भएका थिए। ती घटनामा २ सय १० जनाको शव उद्धार गरिएको थियो भने ३ सय ५० जनाको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

डीआईजी अधिकारीका अनुसार पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया बाढी तथा डुबानको उच्च जोखिममा छन्। त्यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र पूर्वी रुकुम पहिरोको उच्च जोखिममा रहेका जिल्ला हुन्। उनले सम्भावित विपद्को समयमा सबै निकायबीच समन्वय र समुदायको सक्रिय सहभागिता अत्यावश्यक रहेको बताए।