अपराध नियन्त्रण र राजस्व चुहावट रोक्न रूपन्देही प्रहरीलाई सफलता


भैरहवा– असार अन्तिम साता रुपन्देही प्रहरीले ‘अपरेसन चार्ली’ मार्फत् नेपाली एक हजार दरका ६६० थान नक्कली नोट, ती नोट छाप्ने मेसिन र अनुसन्धानका क्रममा १३ जना मानिस पक्राउ गर्यो । जेठ महिनामा आलुऔषध विरुद्ध ‘अपरेसन डेल्टा’ संचालन गरी लागुपदार्थ सेवन गरी गाडी चलाउन १७ जना चालकलाई नियन्त्रणमा लियो । यति मात्रै होइन् सुनको सिक्री लुटको आकंत मच्याइरहेका समूहलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।
यससँगै, हत्याहिंसा, अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिक समेतलाई प्रहरीले गएको आर्थिक वर्षमा नियन्त्रणमा लिएर सफल अनुसन्धान गरेको छ । विचौलियाको कारोबार गर्ने पक्राउदेखि सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण र फरार अभियुक्त नियन्त्रणमा गर्न आर्थिक वर्ष २०८२–२०८३ मा रुपन्देही प्रहरीले प्रभावकारी काम गरेको छ । यही क्रममा प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न २० जनालाई पनि पक्राउ गरेको छ । जसले गर्दा सीमा अपराध र अन्य अपराधिक घटनामा कमी आउनु साथै नागरिकलाई भयरहित वातावरणमा आफ्नो दैनिकी संचालन गर्न सहज भएको छ ।
‘हामीले नागरिकलाई सहज वातावरणमा आफ्नो क्रियाकलापन गर्ने अवस्था सिर्जना गर्न गत आजमा सफल भएका छौं’, रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले भने, ‘अपराध नियन्त्रण, जघन्य अपराधका घटनामा सफल अनुसन्धान, राजस्व चुहावट नियन्त्रणसँगै समाजमा शान्ति सुरक्षा कायम गर्दै सफल कार्यसम्पादन गरेका छौं । प्रहरीले आर्थिक वष २०८२–२०८३ मा करोडौंको भन्सार छलीको सामान नियन्त्रण गर्नुका साथै अपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याएर कार्यसम्पदान चुस्त बनाएको छ ।’
गत आर्थिक वर्षमा रुपन्देही प्रहरीले फैसला कार्यान्वयन अभियान संचालन गर्दा ४७४ जना फरार प्रतिवादी नियन्त्रणमा आएका छन् । उनीहरुबाट साढे ३ करोड रुपैयाँ जरिवाना र ३१६ बर्ष ६ महिना १५ दिन कैद सजाय असुलउपर भएको छ । यस्तै, तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाई गरिँदा अबैध भन्सार छलीको सामान बरामदबाट साढे २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । ‘अघिल्लो वर्ष १२ करोड भन्सार छलीका सामान बरामद भएका थिए । गत वर्ष त्यो दोब्बर भएको छ’, चन्दले भने ।
यसक्रममा २२० जना मानिस, तस्करीमा प्रयोग भएका ३९२ वटा मोटरसाइकल, २५ पिकअप, ६ सानो पिकअप, ११ वटा कार, ६ स्कुटर र ६ अटोरिक्सा नियन्त्रण आएका छन् । एक वर्षको अवधिमा प्रहरीमा १ हजार ९ सय २९ विभिन्न मुद्दा दर्ता भएकामा अधिकांश फछ्र्यौट भएका छन् । यस्तै ठाडो उजुरीतर्फ दर्ता भएका ५ हजार ६५४ उजुरी मिलापत्र गरी फछ्र्यौट गरिएको छ । लागुऔषधतर्फ २ सय ४७ जना मानिसलाई पक्राउ गरी १४० वटा मुद्दा दर्ता गरिएको छ । डाइजापामदेखि, नाईट्राजेपाम, कोडिन र गाँजासम्म बरामद गरिएको छ । प्रहरीका अनुसार गाँजा मात्रै ६० किलो ४९८ ग्राम र ब्राउन सुगर २४४ ग्राम ८३१ मिलिग्राम बरामद भएको डीएसपी चन्द बताउँछन् ।
प्रहरीका अनुसार रुपन्देहीमा पछिल्लो एक वर्षमा २२८ जनाले आत्महत्या गरेका छन् भने २ हजार १५७ सवारी दुर्घटनाबाट ९८ जनाको मृत्यु हुँदा ३ हजार ४१४ जना घाइते भएका छन् । ट्राफिक कारबाहीबाट ४ करोड ६८ ला रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरीले यो बीचमा प्राकृतिक स्रोतको दोहनमा संलग्नदेखि अवैध रुपमा मासुजन्य पदार्थ चोरी तस्करी गर्ने र वन पैदवार चोरी गर्नेसम्मलाई नियन्त्रणमा लिएको छ । यस्तै, अवैध हातहतियार नियन्त्रणमा पनि प्रहरीले गत वर्ष राम्रो सफलता पाएको छ ।
जेनजी आन्दोलनदेखि निर्वाचनसम्म शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको प्रहरीले बैध व्यापार गर्नेलाई प्रोत्साहन, प्रहरी–नागरिक साझेदारी कार्यक्रम संचालन र सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत् प्रहरी सेवालाई थप प्रभावकारी बनाएको चन्दको भनाई छ । ‘यसले समाजमा शान्ति कायम गर्दै नागरिकलाई सहज र सरल दैनिकी संचालनमा टेवा पुर्याइरहेको हाम्रो विश्वास छ ।’ उनका अनुसार यो वर्ष रुपन्देही प्रहरीले मुलुकमै राम्रो कार्यसम्पादन गरी उत्कृष्टता हासिल गरेको छ ।








प्रतिकृया दिनुहोस्