June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

छिनछिनमा हुने विद्युत् कटौतीले हैरानी

Advertisement

भैरहवा– मुलुक लोडसेडिङ मुक्त घोषणा गरिएको धेरै वर्ष भयो । तर, तालिका नै बनाएर लोडसेडिङ नगरिए पनि अनियमित विद्युतु कटौतीले भैरहवा र असपासमा सर्वसाधरण तथा उद्योगी–व्यवसायी हैरानी खेप्दै आएका छन् । छिनछिनमा जाने विद्युतका कारण घरायसी विद्युतीय उपकरण र उद्योगका मेसिनरी सामान समेत विग्रिने गरेका छन् । चर्को गर्मीमा अनियमित विद्युतले सास्ती खेप्न परेपछि सर्वसाधरण नेपाल विद्युत प्राधिकरण र सरकारको आलोचना समेत गरिरहेका छन् ।

Advertisement

भैरहवावासीले अझै भरपर्दो र गुणस्तरीय विद्युत सेवा पाउन नसक्दा चिन्तित छन् । रुपन्देहीमा प्रायजसो विद्युत भोल्टेज कम हुने, पटक–पटक लाइन जाने तथा पूर्वसूचनाविना अवरुद्ध हुने समस्या बढ्दो छ । अत्यधिक गर्मीका कारण एसी, पंखा, कुलर र फ्रिजजस्ता उपकरणको प्रयोग बढेका बेला कमजोर भोल्टेज र झ्यापझ्याप लाइन जाने समस्याले जनजीवन थप कष्टकर हुँदै गएको छ ।

भैरहवा तथा आसपासका क्षेत्रमा पछिल्ला दिनहरुमा विद्युत आपूर्तिमा देखिएको अनियमितताले सर्वसाधारण र उद्योगी–व्यवसायी मात्रै होइन, सबैभन्दा मर्का विद्यालय तहमा अध्ययनरत बालबालिकाले समेत समस्या खेपिरहेका छन् । ‘चर्को गर्मी छ, तर लाइन कतिबेला जान्छ कुनै ठेगान छैन’, हेभेन्ली गार्डेन किड्स क्याम्पसकी प्रिन्सिपल रचना क्षेत्रीले भनिन्, ‘गर्मीले विद्यार्थी आत्तिन्छन् ।’ विद्यार्थीहरु लाइन जाने समस्या र गर्मीले कक्षाकोठामै बस्न नसक्ने अवस्था रहेको उनले जनाइन् । उनले अनियमित विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न आग्रह गरिन् ।

यहाँका स्थानीयका अनुसार अनियमित विद्युत आपूर्तिका कारण कम्प्युटर, प्रिन्टर, फ्रिज, एसी, कुलर तथा अन्य विद्युतीय उपकरणमा क्षति पुग्ने गरेको छ । उद्योगीहरुले उत्पादनका क्रममा प्रयोग हुने मेसिनरी उपकरणहरुमा समेत असर परेको गुनासो गर्ने गरेका छन् । ‘कयौपटक लाइन जाादा उद्योगका मेसिनरी सामानमा क्षति पुगेका छन् । यस्तो अवस्थामा हामीले कहाँ गुनासो गर्न जाने । प्राधिकरणले यो समस्या हल गर्न जरुरी छ’, आकाश कापी उद्योगका संचालक आकाश पौडेलले भने, ‘बारम्बार विद्युत अवरुद्ध हुँदा उत्पादन प्रक्रिया प्रभावित हुनुका साथै आर्थिक नोक्सानीसमेत व्यहोर्नुपरेको छ ।’

उपभोक्ताहरुले विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा समस्या भए त्यसबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन् । लोडसेडिङ छैन भने पनि रातदिन धेरै पटक लाइन जाने गरेको छ । स्थानीय दीपेश उपध्याय भन्छन्, ‘यदि मर्मत, क्षमता अभाव वा अन्य कारणले विद्युत कटौती गर्नुपर्छ भने त्यसको समयतालिका सार्वजनिक गर्न पर्छ । होइन् भने जतिबेला पनि लाइन काट्ने समस्या समाधान गर्न जरुरी छ ।’

प्राधिकरण भैरहवा वितरण केन्द्रले सधैं सिस्टममा समस्या भएको भन्दै लाइन काट्ने गरेको दुखेसो उनको छ । सर्वसाधरण र उद्योगी–व्यवसायीले पटक–पटक लाइन जाने समस्या समाधान गर्न ज्ञापनपत्र बुझाउँदै आएका छन् । दिनमै दर्जनौंपटक विद्युत कटौती हुने गरेको छ । तर, प्राधिकरणले समस्या समाधान गर्न भने सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख ई.सुरज रेग्मीले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको तर कहिलेकाहीँ प्राविधिक समस्या केही समय लाइन जाने गरेको स्वीकारे । ‘गर्मीमा विद्युत धेरै खपत हुँदा कहिले हाम्रै तार चुडिन्छन्, कहिले ग्राहकले आगलागी भयो भन्नुहुन्छ’, उनले भने, ‘कहिलेकाहीँ सिस्टममा समस्या आउँछ र पुनः संचालन गर्न आधा–एक घण्टा लाग्ने गर्छ । तर, प्राविधिक समस्यालाई अन्य अर्थ लायर लोडसेडिङ भयो भन्ने गरिएको छ ।’ उनले एकदुईपटक आधा–एक घण्टा लाइन गएको तर अन्य समयमा १०–१५ मिनेट भन्दा लाइन नगएको दावी गरे ।

‘ट्रान्फर्मर जलेमा चेन्ज गर्नै पर्यो, कसैले आगलागी भयो भन्यो भने एकछिन लाइन काट्न पर्यो’, उनले भने, ‘यस्तोमा धेरै लाइन काट्यो भन्नु हुँदैन ।’ उनले विगतमा भन्दा धेरै सुधार हुँदै गएको जनाउँदै आउँदा वर्षहरुबाट समस्या समाधान हुँदै जाने जनाए ।

भैरहवा र आसपासको तापक्रम ४० डिग्री हाराहारी छ । यस्तो बेला अनियमित विद्युत आपूर्तिले यहाँका बासिन्दाले गर्मीको चरम मार खेपिरहेका छन् । यसबाट सर्वसाधारणको दैनिक जीवन मात्र होइन, भैरहवा क्षेत्रको औद्योगिक तथा व्यावसायिक गतिविधिसमेत प्रभावित भइरहेको छ । यस्तो अवस्थामा प्राधिकरणले छिनछिनमा हुने विद्युत कटौतीको समस्या पहिचान गरी तत्काल तथा दीर्घकालीन समाधानका उपाय खोज्नतर्फ ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।