प्रतापपुर गाउँपालिकामा २० युनिटसम्मको घरेलु विद्युत र स्थानीय करमा छुट


नवलपरासी– केन्द्र सरकारले विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको अवस्थामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले भने स्थानीय नागरिकलाई प्रत्यक्ष राहत दिने गरी बिद्युत उपभोग सम्बन्धि लोकप्रिय कार्यक्रम ल्याएको छ ।
आउँदो आर्थिक वर्षदेखि लागू हुने गरी २० युनिटसम्मको घरेलु विद्युत महसुल र कृषि प्रयोजनका लागि राखिएका मिटरको सम्पूर्ण बिल पालिकाले नै बेहोर्ने प्रस्ताव गाउँपालिकाको पालिका सभाले पारित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार पालिकाभित्रका विपन्न तथा न्यून आय भएका बासिन्दाहरूलाई लक्षित गर्दै यो योजना ल्याइएको हो।
घरेलु प्रयोजनको लागि न्यूनतम विद्युत उपयोग गरेर पनि महसुल तिर्न नसक्ने अवस्थामा रहेका अति विपन्न परिवारलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८३-८४ बाट लागू हुने गरी उक्त योजना ल्याएको अध्यक्ष यादवले बताए ।
गाउँपालिकाले सर्वसाधारणको घरेलु विद्युतमा मात्र नभई स्थानीय किसान र उद्यमीहरूलाई पनि विशेष सहुलियतको घोषणा गरेको छ ।
जसअन्र्तगत, पालिकाभित्र सिँचाइका लागि प्रयोग गरिएका विद्युत मिटरको सबै बिल अब गाउँपालिकाले नै व्यहोर्ने भएको छ । यसले कृषि उत्पादन बढाउन र किसानको लागत घटाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।
गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने ठूला उद्योगहरूलाई आकर्षित गर्न र रोजगारी सिर्जना गर्न उक्त पालिकाले स्थापना भएको पहिलो ५ वर्षसम्म लाग्ने सम्पूर्ण स्थानीय कर छुट दिने निर्णयपनि गरेको छ ।








प्रतिकृया दिनुहोस्