July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

लुम्बिनीमा नेपाल प्रहरीद्वारा शान्ति पदयात्रा र जनचेतना

Advertisement

भैरहवा–समुदायसित साझेदारी कायम गर्दै समाजमा व्याप्त आत्महत्या, लागू औषध दूव्यर्सन र सडक दूर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सोमबार रुपन्देहीको लुम्बिनीमा शान्ति पदयात्रा र जनचेतना मूलक कार्यक्रम गरिएको छ । सोमबार बिहान लुम्बिनीको शान्ति दीपकबाट सुरु भएको जन चेतना ¥याली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर सभामा परिणत भएको थियो ।

Advertisement

समाजमा शान्ति, सुरक्षा, र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा सुरक्षा निकाय, विद्यार्थी, आमा समुह, युवा समुह, नागरिक समाज र स्थानीय समुदायले ऐक्यबद्धता जनाएका हुन् । गर्मी याममा पनि जनचेतना र्यालीमा उल्लेख्य सहभागिता रहेको थियो । लुम्बिनी प्रदेश प्रहरीको अगुवाईमा आयोजना गरिएको जनचेतना कार्यक्रम समाजमा भयावह समस्याका रूपमा देखा परेका तीनवटा मुख्य क्षेत्रमा केन्द्रित रहेको थियो ।

प्रदेश प्रहरी प्रमुख डीआइजी भुपेन्द्रबहादुर खत्रीका अनुसार पहिलो उद्देश्य लागूऔषध दुव्र्यसनी नियन्त्रण रहेको छ । कार्यक्रम मार्फत जनचेतना फैलाएर युवा पुस्तालाई कुलतबाट जोगाउने र अवैध ओसारपसार नियन्त्रण गर्ने रहेको थियो । अर्को उद्देश्य सडक दुर्घटना न्यूनीकरण रहेको थियो ।

कार्यक्रममा ट्राफिक नियमको पालना गराई अकालमा हुने मृत्युलाई रोक्नका लागि भूमिका खेल्न जोड दिइएको थियो । प्रहरीले नागरिक समाजमा ठूलो समस्याका रुपमा देखिएको आत्महत्या रोकथाम गर्नु कार्यक्रमको उद्देश्य रहेको छ । मानसिक स्वास्थ्यप्रति सचेतना जगाउँदै निराशा चिरेर जीवनप्रति सकारात्मक दृष्टिकोण पैदा गर्नु कार्यक्रमको उद्देश्य रहेको डीआइजी खत्रीले बताए ।

यस्ता गम्भीर सामाजिक चुनौतीहरूविरुद्ध एक्लो प्रयासभन्दा सामूहिक रूपमा लड्न र समुदायस्तरमै व्यापक जनचेतना जगाउन यो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । र्यालीमा सहभागीले शान्ति, सुरक्षा, लागूऔषध विरुद्धका नारा, सडक सुरक्षा र जीवनको महत्त्व झल्काउने खालका सान्दर्भिक प्लेकार्ड र ब्यानर बोकेका थिए । उक्त र्यालीले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको परिक्रमा गरेको थियो । बिहान आयोजित उक्त र्याली तथा पदयात्रामा सर्वसाधारणदेखि राज्यका प्रमुख सुरक्षा निकायसम्मको ऐक्यबद्धता देखिएको थियो ।

कार्यक्रममा रुपन्देहीका सम्पूर्ण स्थानीय पालिका तथा आसपासका छिमेकी जिल्लाबाट समेत व्यापक जनसहभागिता रहेको थियो । र्यालीमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, बौद्ध भिक्षु, नागरिक समाजका अगुवा, उद्योगी, व्यवसायी र सञ्चारकर्मीको ठूलो संख्यामा उपस्थिति थियो सुरक्षा निकायका तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारी तथा जवानको समेत ब्यापक सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित मुख्य समारोहमा नेपाल प्रहरीको सङ्गीत ब्याण्डले देशप्रेम, राष्ट्रियता र चेतनामूलक विभिन्न साङ्गीतिक धुन तथा प्रस्तुति दिएर हलमा उपस्थित जनमानसमा ऊर्जा र उत्साह भरेको थियो । कार्यक्रमको विशेष र सबैभन्दा आकर्षक पक्ष भने उत्प्रेरणात्मक सत्र रहेको थियो । विगतमा विभिन्न खराब लत (लागूऔषध), मानसिक तनाव वा कठिन मोडमा फसेर, त्यसलाई दृढ इच्छाशक्तिले चिर्दै सामान्य र सकारात्मक जीवनयापनमा फर्कन सफल भएका व्यक्तिले समारोहमा आफ्नो वास्तविक जीवनको अनुभव सुनाएका थिए । उनीहरूले दिएको भावुक र ओजपूर्ण उत्प्रेरणात्मक वक्तव्यले हलमा उपस्थित सबैलाई स्तब्ध, भावुक र जीवनप्रति प्रेरित बनाएको थियो ।

समारोहका प्रमुख अतिथि नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले शान्तिको भूमि लुम्बिनीबाट सुरु गरिएको यो अभियानले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । ‘लागूऔषध, सडक दुर्घटना र आत्महत्या जस्ता समस्या केवल प्रहरीको प्रयासले मात्र नियन्त्रण हुन सक्दैनन् । यी विषयमा नागरिक आफैँ सचेत र जिम्मेवार हुनुपर्छ,’उनले भने, ‘जबसम्म नागरिक र प्रहरीबीचको सहकार्य बलियो हुँदैन, तबसम्म दिगो शान्ति र अपराधमुक्त समाज निर्माण हुन सक्दैन ।’ कानुन कार्यान्वयनसँगै सामाजिक चेतना जगाउन नेपाल प्रहरी सधैँ अग्रपङ्क्तिमा रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।