August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

भएन दोस्रो चरणको चुनाव, रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

Advertisement

दाङ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । पार्टीको दाङमा भएको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट घिमिरे सभापति चयन भएका हुन् ।

Advertisement

पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाएका थिए । उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने तय थियो । तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपाले जनाएको छ ।

सभापति पदका लागि ६ जना बीच भएको चुनावमा रुपन्देहीका शालिकराम घिमिरेले १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा। राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए ।

मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत मात्र खसेको थियो । अब उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको नेता शर्माले बताए ।

अधिवेशनका प्रतिनिधिहरु अधिकांश घर फर्केका र मतदान स्थलमा नगण्य संख्यामा मात्र प्रतिनिधि रहेकाले मतदान हुने नहुने अनिश्चित भएको रास्वपा नेता सहयोगी बीसीले बताए ।

अधिवेशनका प्रतिनिधिहरु लाखापाखा लागिसकेकाले सभापतिमा जस्तै अन्य पदाधिकारीमा पनि सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको वीसीले बताए । प्रदेश प्रवक्ता भने मनोनित गर्ने व्यवस्था छ ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरुले भने अधिवेशनको बन्दसत्रमा पार्टीको नीति, सिद्धान्त, विचार बारे कुनै छलफल नभएको गुनासो गरेका छन् ।