June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

पब्लिक कुरा कर्पोरेट फुटसल हुँदै, कर्पोरेट क्षेत्रमा उत्साह

Advertisement

भैरहवा– माटिकोरे मिडिया प्रालि (पब्लिक कुरा), भैरहवाको आयोजनामा जेठ २३ र २४ गते भैरहवामा सञ्चालन हुने ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा कर्पोरेट कप फुटसल–२०८३’ लाई लिएर उत्साह देखिएको छ । रुपन्देहीमा कर्पोरेट कल्चर विकासका लागि पहिलोपटक आयोजित फुटसल प्रतियोगितामा सहभागिताका लागि कर्पोरेट हाउसको चासो बढेको छ ।

Advertisement

आयोजकले एक दर्जन कर्पोरेट संस्थालाई सहभागी गराउने योजना बनाए पनि करिब दुई दर्जन संस्थाले टिम दर्ता गराइसकेका छन् । फुटसलमा सहभागिताका लागि दिनभरि कर्पोरेट संस्थाहरुले चासो दिने गरेको पब्लिक कुरा डटकमका प्रबन्धक प्रेमबहादुर बस्नेतले बताए । ‘पब्लिक कुराले रुपन्देहीमा कर्पोरेट कल्चर विकास गर्ने उद्देश्यले फुटसल आयोजना गर्न लागेको हो,’ उनले भने, ‘अहिले फुटसलमा सहभागिताका लागि जिल्लाभर उत्साह देखेर हौंसला मिलेको छ ।’

टाइटल स्पोन्सर द नेक्स्ट कन्सलटेन्सीका प्रवन्ध निर्देशक गोबिन्दराज अधिकारीले जिल्लामा पहिलो पटक कर्पोरेट संस्थालाई एकजुट गरेर भलाखुसारी गर्ने वातावरण निर्माण गरिएकामा खुसी व्यक्त गरे । ‘संस्थाको सामाजिक उत्तर दायित्व अन्तर्गत यस्तो महत्वपूर्ण कार्यक्रममा जोडिन पाउँदा अत्यन्त खुसी लागेको छ,’ उनले भने, ‘फुटसलमा हाम्रो टिम पनि सहभागी हुँदैंछ । फुटसल सफल तुल्याउन सम्पूर्ण किसिमले सघाउन तयार छौं ।’ फुटसल सफलताका लागि उनले शुभकामना दिए ।

इ–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले भैरहवा केन्द्रित रहेर सञ्चालक भइरहेको लोकप्रिय अनलाइन पत्रिका पब्लिक कुरा डटकमले रुपन्देहीका कर्पोरेट संस्थालाई एकै थलोमा जम्मा गर्ने जमर्को गरेर नयाँ कल्चरको सुरुवात गरेको बताए । ‘सामाजिक रुपमा मिडियाको पनि उत्तरदायित्व हुन्छ भन्ने पब्लिक कुराले देखायो,’ उनले भने, ‘त्यसैले हामी पनि यसमा टिम सहित सहभागी हुँदैंछौं ।’

उद्योग–व्यवसायको केन्द्र रुपन्देहीमा अहिलेसम्म कर्पोरेट संस्थाबीच यस्तो खेलको आयोजना हुन सकेको थिएन । यसअघि आयोजित खेलमा सहभागीको अभाव हुने गरेको थियो । ‘कर्पोरेट फुटसलको आयोजनाबाट हामी धेरै उत्साहित छौं,’ पंचकन्या समूहका महाप्रवन्धक देवेन्द्र साहुले भने, ‘हामी टिम सहित सहभागी हुँदैछौं ।’ यस्ता आयोजनाले कर्पोरेट संस्थाबीच सहकार्यको ढोका पनि खोल्ने उनले बताए । साथैं एकअर्काको उद्योग–व्यवसायसित परिचित हुने अवसर पनि मिल्छ ।

सिद्धार्थनगर सीटी अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले अहिलेको तनावपूर्ण समयमा खेल सबैका लागि अपरिहार्य रहेको बताए । ‘झन कर्पोरेट क्षेत्रका मानिसहरु २४ सैं घण्टा तनावमा हुन्छन्,’ उनले भने, ‘स्वस्थ जीवनका लागि खेल जरुरी छ भन्ने सन्देश दिन पब्लिक कुरा फुटसल सफल भएको छ ।’ यस्तो आयोजनाबाट खुसी भएरै आफनो टिम सहित फुटसलमा सहभागी हुन लागेको उनले बताए ।

नेपाल उद्योग महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले भैरहवामा पहिलोपटक आयोजना हुन लागेको फुटसलको सफलताको कामना गरे । ‘यो फुटसल कर्पोरेट संस्थाका लागि खेल्ने, रमाउने र आइडिया शेयर गर्ने थलो बनेको छ,’ उनले भने, ‘सफलताका लागि शुभकामना छ ।’ अगामी दिनमा पनि यस्ता कार्यक्रम मार्फत पुराना–नयाँ पुस्ताबीच बहस र छलफलको वातावरण तयार गरिनुपर्नेमा जोड दिए ।