June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनीमा एमालेका मन्त्रीले दिए राजीनामा

Advertisement

भैरहवा– बजेटको मुखैंमा लुम्बिनी प्रदेश सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिएका छन् । केन्द्रबाट राजीनामाको निर्देशन आएपछि बुधबार बिहान मन्त्रीले राजीनामा गरेका हुन् । लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । लामो समयदेखि कांग्रेसले पूर्वसहमति अनुसार नेतृत्वसहित सरकार परिर्वतन हुने माग गरिरहेको छ ।

Advertisement

एमालेका मन्त्री बन्ने लाइनमा रहेका प्रदेश सांसदले मन्त्री फेर्न केन्द्रमा दबाब दिएका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यही अनुसार बुधबार मन्त्रीले राजीनामा दिएका हुन् । बुधबार नयाँ मन्त्री नियुक्त गरी शपथ गराउने तयारी भए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेश बाहिर रहेकाले कम्तिमा दुई दिन नयाँ मन्त्री नियुक्त हुन नसक्ने एक नेताले बताए ।

एमालेबाट मन्त्रीका लागि केन्द्रबाटै गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस भएको स्रोतको दाबी छ । अहिले एमालेका मुख्यमन्त्रीबाहेक ४ जना मन्त्री छन् । एमालेबाट मन्त्री रहेकाहरु भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन् ।

सिफारिस भएका चार जनामध्ये खत्री यसअघि सामाजिक विकास मन्त्री बनेका थिए । अन्य तिन जना भने मन्त्रीका लागि नयाँ अनुहार हुन् । एमालेले दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएर आएका र मन्त्रीको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राखेको थियो । त्यही अनुसार चौधरी र घिमिरे सिफारिस भएका हुन् । गुल्मीका भुसाल भने प्रदेश सभाका जेष्ठ नागरिक भएकाले सिफारिस भएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेबाट सरकारमा रहेका मन्त्रीहरुलाई राजीनामा गर्न निर्देशन दिएको बताए । ‘नयाँ साथीहरुलाई जिम्मेवारी दिने भन्ने सल्लाह भएको छ,’ उनले भने, ‘मन्त्रीजीहरुले बुधवार नै राजीनामा दिइसक्नुभयो । अब कसलाई मन्त्रालयको जिम्मेवारी दिने भन्ने छलफल हुन्छ ।’ सरकारले बजेट तयारी गरिरहेको भए पनि मन्त्री हेरेफेरले बजेटलाई कुनै असर नगर्ने उनले बताए । लुम्बिनी प्रदेश सरकारले साउन १ गतेदेखि ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । सरकारले नीति कार्यक्रममा पनि उक्त विषय प्रमुखताका साथ उल्लेख गरेको छ ।