May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

तातो लहरले जनजीवन प्रभावित

Advertisement

भैरहवा – एक साता यता रुपन्देही लगायत तराईका जिल्लामा तातो हावाको लहर चलेको छ । तातो हावासँगै लु चल्न थालेपछि सर्वसाधरण मारमा परेका छन् । तातो हावाका कारण ‘हिटस्ट्रोक’को जोखिम बढेको छ । अहिले पूर्र्वी नेपालमा वर्षा भए पनि पश्चिमी तराईका जिल्लामा चर्को गर्मी छ ।

Advertisement

सिद्धार्थनगर–८, कि हेमा श्रेष्ठले गर्मीले दिनरात सताउन थालेको बताइन् । दिउँसोमा घरभित्र आराम गर्ने अवस्था छैन । घर तातेर रातीमा पङ्खा, कुलरले काम गर्न छाडेका छन् । ‘गर्मीका बेला विद्युत आउनेजाने समस्याले झन समस्या भइरहेको छ,’ उनले भनिन्, ‘यस्तो बेला कहाँ जाउँ, कसो गरुँ हुँदो रहेछ ।’ पानी नपरेका कारण गर्मी अचाक्ली बढेको उनले बताइन् ।

गर्मीका कारण बिरामी बढ्न थालेका छन् । लुबाट प्रभावित अधिकांश बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वासप्रश्वास सम्बन्धिल समस्या देखिएका छन् । रुपन्देही लगायत जिल्लामा दिउँसो तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिरहेको छ । किसान तथा दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित भएका छन् ।

नेपालको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई जिल्लाहरूका लागि लुको चेतावनी र पहाडी क्षेत्रमा ‘तातो दिन’ को चेतावनी जारी गरेको छ । लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा धेरै असर गरेको छ । स्वास्थ्यकर्मीले घाम र तातो हावाका कारण दिउँसो घर बाहिर नस्किन अनुरोध गरेका छन् ।

जसले गर्दा सडक सुनसान जस्तै देखनि थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पउिने स्थानमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो । चिकित्सकका अनुसार गर्मीमा सामान्यतया संक्रामक तथा कीटजन्य रोगका बिरामी बढ्छन् । उनीहरूका अनुसार झाडापखाला, आउँ, हैजा, हेपाटाइटिस ए र ई, मलेरिया, डेंगु, स्क्रब टाइफस लगायतका रोगहरू तापक्रम वृद्धिसँगै बढ्नेछन् । साथै सर्पदंशका घटना पनि बढ्ने सम्भावना छ ।

लुबाट बच्ने उपायहरू
– प्रशस्त पानी पिउने
– चिसो पानीले नुहाउने
–दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने र हल्का कपडा लगाउने
– खेतमा काम गर्न परे बिहान र साँझ गर्ने
– कागती पानी, नरिवल पानी, फलफूल र ताजा घरको खाना खाने

के नगर्ने ?
– चिया, कफी, सोडा र क्याफिनयुक्त पेय नपिउने
– दिउँसो बाहिर ननिस्कने
– लामो समय भान्सामा नबस्ने
– धूम्रपान र मदिरा सेवन नगर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो मुटुको धड्कन, श्वासप्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ ।