May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैशाखमा रूपन्देही प्रहरीमा १८६ मुद्दा दर्ता

Advertisement

भैरहवा–जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा गत वैशाख महिनामा विभिन्न प्रकृतिका कुल १८६ वटा मुद्दा दर्ता भएका छन् । रुपन्देही प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र फैसला कार्यान्वयनको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दाबी समेत गरेको छ ।

Advertisement

प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदन अनुसार वैशाख महिनाभर १९४ जना प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सामाजिक अपराध र संगठित तथा आर्थिक अपराधसँग सम्बन्धित छन् । जघन्य/गम्भीर अपराध अन्तर्गत ८१ वटा, आर्थिक अपराध अन्तर्गत ४६ वटा र महिला तथा बालबालिका सम्बन्धी अपराध अन्तर्गत १२ वटा मुद्दा दर्ता भएका छन् ।

सामाजिक अपराध ४९, संगठित तथा आर्थिक अपराध ४६, ज्यान सम्बन्धी अपराध २४, आत्महत्या २३, सवारी सम्बन्धी अपराध १७, चोरी १५, महिला बालबालिका सम्बन्धी अपराध १२ वटा छन् ।

वैशाख महिनामा मात्रै ९० जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादीहरूबाट कुल ६३ वर्ष २ महिना १२ दिन कैद सजाय भुक्तानका लागि अदालत बुझाएपछि कारागार चलान गरिएको छ भने उनीहरूबाट ५८ लाख ३४ हजार ७४५ रुपैयाँ जरिवाना समेत असुल गरिएको छ ।

वैशाख महिनामा घरेलु हिंसा र छिमेकीसंगको झगडा (ठाडो निवेदन) गरी कुल १२२ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये अधिकांश घटनालाई प्रहरीले आपसी सहमति र मिलापत्रमार्फत टुङ्ग्याएको छ । घरेलु हिंसातर्फ दर्ता भएका ८४ उजुरीमध्ये ७६ वटामा मिलापत्र गराइएको छ ।

घरेलु हिंसामा ८० जना पीडित र ७८ जना पीडक १९ देखि ५९ वर्ष उमेर समूहका छन् । ज्येष्ठ नागरिक (६० वर्षमाथि) तर्फ घरेलु हिंसामा ३ जना पीडित र ६ जना पीडक रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई सुदृढ बनाउन र पीडितलाई तत्काल न्याय दिलाउन आफ्नो संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गरिरहेको उल्लेख गरेको छ ।