August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

काशी नोबलमा चालु शैक्षिक सत्रदेखि कोरियन भाषाको पठनपाठन हुँदै

Advertisement

भैरहवा–काशी नोबल एकेडेमी, सिद्धार्थनगरले चालु शैक्षिकसत्र बाट कक्षा ११ मा कोरियन भाषा विषयको अध्ययन-अध्यापन संचालन गर्ने भएको छ ।

Advertisement

नेपालको शैक्षिक इतिहासमा पहिलो पटक विद्यालयस्तरको पाठ्यक्रममै कोरियन भाषा समावेश हुने दाबी गर्दै उक्त बिद्यालयले कक्षा ११ र १२ मा कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा अध्यापन गराउने बताएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीले आधिकारिक रुपमा जानकारी गराएको हो ।

नेपालका विद्यालयहरूमा विदेशी भाषाका रूपमा अंग्रेजीबाहेक अन्य भाषाहरू बिरलै पढाइने गरिएको अवस्थामा काशी नोबलले व्यवसायिक र प्राविधिक महत्वलाई ध्यानमा राख्दै कोरियन भाषा अध्यापन गराउने निर्णयमा पुगको हो ।

विद्यालयका प्राचार्य राजेन्द्रप्रसाद घिमिरेले नेपाली बिद्यार्थी कोरिया गइ अध्ययन गरेर पछिल्ला वर्षहरूमा हासिल गरेको प्राविधिक र आर्थिक प्रगतिको जानकारी तथा प्रबिधि नेपालमा ल्याउन सक्ने भएकाले कोरियन भाषा अध्ययन गराउन लागिएको बताए ।

‘हाम्रो लक्ष्य केवल भाषा सिकाउनु मात्र होइन, नेपाली विद्यार्थीहरूले कोरियामा गएर उच्च स्तरको प्राविधिक शिक्षा हासिल गरी नेपाल फर्किएर यहाँ दक्ष जनशक्ति तयार पार्न सकून् भन्ने हो’, घिमिरेले भने ।

विद्यालयका सहप्राचार्य श्रीबहादुर रायमाझीले दक्षिण कोरियामा जन्मदर न्यून रहेकाले त्यहाँ दक्ष जनशक्तिको माग उच्च रहेको र विदेशी विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति दिएर आकर्षित गर्ने गरिएकोले नेपाली बिद्यार्थीलाई पनि यो अवसर हुने बताए ।

रायमाझीका अनुसार, दक्षिण कोरिया विश्वको १३औं र एसियाको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक हो । हुण्डाई जस्ता विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूको केन्द्र रहेको कोरियामा नेपाली विद्यार्थीहरूका लागि प्रचुर सम्भावना छन् ।

‘युरोप वा अमेरिका जाने धेरैजसो विद्यार्थीहरू उतै स्थायी बसोबास गर्ने तिर लाग्ने गरेका छन्,’ रायमाझीले भने, ‘तर, कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूले निश्चित समयपछि स्वदेश फर्किनुपर्ने नियमका कारण उनीहरूले सिकेको सीप र प्रविधि अन्ततः नेपालकै विकासमा उपयोग हुन सक्छ ।’