October 16, 2026, Friday
२०८३ आश्विन ३० शुक्रबार

एसईईमा सिद्धार्थनगरका सामुदायिक र निजी विद्यालयको नतिजा कस्तो ?

Advertisement

भैरहवा– यस पटकको एसईई परीक्षाको नतिजाले सिद्धार्थनगरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर रहेको देखाएको छ । विद्यार्थी संख्याको अनुपातमा पर्याप्त शिक्षक दरबन्दी, पुस्तकालय, भवन लगायतका शैक्षिक पूर्वाधार बलियो रहे पनि नगरका केही सामुदायिक विद्यालयको एसईई परीक्षाको नतिजा निकै दयनीय अवस्थामा छ ।

Advertisement

एसईई परीक्षाको नतिजाले ती विद्यालयमा अहिलेसम्म भइरहेको सरकारी लगानीको अनुरुपको शैक्षिक उपलब्धता माथि नै प्रश्न उठाएको छ । केही निजी (संस्थागत) विद्यालयको शैक्षिक नतिजा पनि कमजोर रहेको पाइएको छ ।

यस पटक सिद्धार्थनगरका कुनै पनि सामुदायिक विद्यालयबाट ४ जिपीए अंक ल्याएर विद्यार्थी उत्तीर्ण हुन सकेनन् भने निजी क्षेत्रका तीनवटा विद्यालयबाट ४ जनामात्र विद्यार्थी ४ जिपीए अंक ल्याएर उत्तीर्ण भएका छन् ।

नगरपालिकाको शिक्षा शाखाका अनुसार यस पटकको एसईई परीक्षामा सामुदायिक विद्यालयहरुको उत्तीर्ण प्रशितत ४६.५४ प्रतिशत छ । ११ वटा सामुदायिक विद्यालयबाट कुल ५ सय ३५ जना विद्यार्थीले परीक्षा दिएकोमा २ सय ८६ जना अनुत्तीर्ण भएका छन् ।

पक्लिहवा मावि, भैरहवा नमूना, महात्मा बुद्ध माविको नतिजा दयनयि रहेको छ भने संस्कृत बिद्याश्रम, बेलहिया मावि, सूर्यदेव मावि, सुसंस्कृत माविको नतिजा पनि कम्जोर अवस्थामै छन् । बाल बहिरा बिद्यालयको मात्र शतप्रतिशत उत्तीर्ण छ । सामुदायिक विद्यालयमा नगरको उत्कृष्ट मानिने लिलाराम माविको उत्तीर्ण प्रतिशत पनि ६३.७५ प्रतिशत छ ।

सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले गत बर्ष भन्दा यस वर्षको एसईई परीक्षामा सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख रहे पनि राम्रो मान्न नसकिने बताए । ‘नतिजा राम्रो ल्याउन नसकेका विद्यालयमा बुझ्दा बिद्यार्थी नै लगनताका साथ पढाइमा ध्यान नदिने गरेको जानकारी गराएका छन्’, लम्सालले भने, ‘चाडपर्व र नातेदारकोमा गएपछि महिनौं दिनसम्म विद्यार्थी हराउने र अभिभावकले पनि यसप्रति सचेत हुन नसकको पाइएको छ ।’

नतिजा कम्जोर रहेका विद्यालयहरुमा चाडै न भेला तथा छलफल गराएर शैक्षिक गुणस्तर कमी हुनुको कारण पत्ता लगाइने उनले बताए । एसईई परीक्षा दिएका सिद्धार्थनगरका २४ वटा निजी बिद्यालयबाट ९ सय ४९ जना विद्यार्थीमध्ये १ सय ५२ जना अनुत्तीर्ण भएका छन् । निजी विद्यालयको उत्तीर्ण प्रतिशत ८३.९८ प्रतिशत छ । मोर्डन पब्लिक र आर्य पब्लिकमा शतप्रतिशत उत्तीर्ण भएका छन् । ब्राइटस्टार, बुद्धज्योति, बृहष्पति, इस्टवेष्ट, बुद्धज्ञान, नालन्दा, हेभेन्ली र मन्टेश्वरी स्कुलको उत्तीर्ण ८० प्रतिशत पुग्न सकेको छैन ।

कुन विद्यालयको नतिजा कस्तो ?