August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

रूपन्देहीबाट एसईई परीक्षामा ६६ प्रतिशत उत्तीर्ण

Advertisement

भैरहवा–यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रूपन्देहीमा ६६ प्रतिशत बिद्यार्थी उतीर्ण भएका छन् । जसमध्ये, ४ जीपीए अंक ल्याउने बिद्यार्थी ८२ जना छन् ।

Advertisement

शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका अनुसार, साधारण धारतर्फका बिद्यालयबाट ८० जना र प्राविधिक धारतर्फका बिद्यालयबाट २ जना बिद्यार्थीले ४ जीपीए अंक ल्याएका हुन् । २०८२ को एसईईमा रूपन्देहीबाट ३ सय ४५ विद्यालयका १७ हजार ४ सय ४३ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५ हजार ७ सय ८५ जना अनुत्तीर्ण भएका छन् ।

बुटवलका उत्कृष्ट मानिने चार सामुदायिक विद्यालय कालिका, शान्ति नमुना, कान्ति र नविन औद्योगिक कदरबहादुर रिता माविको नतिजा कमजोर देखिएको छ । सामुदायिकको तुलनामा नीजि विद्यालयहरु अगाडि देखिएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका अधिकृत एवं गुनासो सुन्ने अधिकारी झविलाल विकका अनुसार रूपन्देहीबाट एसईईमा सहभागी भएका ३ सय ४५ विद्यालयमध्ये नीजि तर्फको बुटवलको अक्सफोर्ड बोर्डिङ स्कुलबाट ११ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै दोस्रोमा बुटवलकै दिप बोर्डिङबाट ७, तेस्रोमा तिलोत्तामा नगरपालिकाको प्यारामाउण्ट बोर्डिङबाट ६ जनाले ४ जीपीए ल्याएका छन् ।

सामुदायिक तर्फ कालिका मानव ज्ञान माविबाट ६, कान्ति माविबाट ४, नविन औद्योगिक कदरबहादुर रिता माविबाट १ र तिलोत्तमाको शान्ति नमुना स्कुलबाट १ जनाले मात्र ४ जीपीए ल्याएका छन् ।

सिद्धार्थनगरमापनि तीनवटा संस्थागत बिद्यालयबाट चारजना बिद्यार्थीले ४ जीपीए अंक प्राप्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखाका अनुसार, सिद्धार्थनगरमा साइग्लोबलबाट २ जना र अमरज्योती र मोर्डन पब्लिकबाट एक–एक जना बिद्यार्थीले ४ जीपीए अंक प्राप्त गरेका हुन् ।