August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

संघ सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखायोः मुख्यमन्त्री आचार्य

Advertisement

बर्दिया– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको आरोप लगाए । उनले यस्तो प्रवृत्तिले अन्ततः कसैको हित नगर्ने जनाए ।

‘अहिलेदेखि नै गम्भीर भएर सोच्नुस, गम्भीर भएर लाग्नुस । कम्तिमा को सही हो, को गलत हो भन्ने कुरा छनोट गरेर अघि बढ्नुस,’ उनले भने, ‘सुकुम्बासीको समस्या समाधान गर्न हामीले काम गर्दै थियौं । कतिपयले पुर्जा पाइसक्नुभएको थियो भने कतिपय पाउने प्रक्रियामा हुनुहुन्थ्यो । तर ‘नगर्ने’ भन्ने परिभाषामा राखियो ।’

मुख्यमन्त्री आचार्यले मुलुकमा यस्तो परिस्थिति आउनेबारे राजनीतिक दलहरूले पहिले नै संकेत गरेको उल्लेख गरे । ‘यी कुराहरू जनतामाझ कति राख्न सक्यौं, कति सकेनौं । तर सरकारले लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने काम गर्यो,’ उनले भने ।

उनले भूमिहीन सुकुम्बासीमाथि पहिलो प्रहार गरिएको दाबी गर्दै अव्यवस्थित बसोबासको समस्यालाई राज्यले गम्भीर रूपमा समाधान गर्नुको साटो घरवारविहीन बनाउने काम सुरु गरेको बताए ।

संघीय सरकारले हचुवाको भरमा काम गर्न नहुने भन्दै मुख्यमन्त्री आचार्यले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा संवेदनशील हुन आग्रह गरे ।