July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

Advertisement

भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै सहज जित निकालेको हो ।

Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बुद्धले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७७ रन बनायो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिषेश गौतमले ४, सुझाव थापाले ३ तथा सन्देश थापा र कलम मुसलमानले १–१ विकेट लिए । बुद्धका मिथलेश यादव र दिलसाद अलीले १५–१५ तथा गौतम केसीले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले ८ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहजै जित हात पार्यो । उसका लागि प्रज्जवल थापाले अविजित ४७ र रन्जित खड्काले नटआउट २८ रन बनाए । बुद्धका विपिन शर्माले १ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।