August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

आजदेखि मुलुकभर सरसफाइ सप्ताह

Advertisement

भैरहवा–सार्वजनिक सेवा प्रदायक सरकारी निकायमा सेवाग्राहीलाई स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि मुलुकभर ‘सरसफाइ सप्ताह २०८३’ मनाइने भएको छ ।

Advertisement

सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो सरसफाइ सप्ताह मनाउन लागिएको हो । ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत यो राष्ट्रिय अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशनसमेत दिएको छ ।

मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट र व्यवस्थित हुनुपर्ने छ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङरोगन गरिने छ । मुख्य सेवा क्षेत्र र प्रवेशद्वार आकर्षक र सफा राखिने छ । शौचालय दुर्गन्धरहित बनाइने छ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने छ । हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ ।

दैनिक सफाइको अभिलेख राख्नुपर्ने छ । शौचालय महिलामैत्री, सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्ने छ । कार्यालयले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने छ । मार्गदर्शनमा पुराना काम नलाग्ने सामानको उचित व्यवस्थापन गर्न आग्रह गरिए पनि खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

कार्यालयपरिसरको एक सय मिटरवरिपरि, नाली र ढल सफा हुनुपर्ने, पार्किङ क्षेत्र सुधार गरी अव्यवस्थित तार वा पोस्टर हटाउनुपर्ने, कार्यालयमा सहायता कक्ष (हेल्प डेस्क) व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाउने गरी सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन मार्गदर्शनमा निर्देश गरिएको छ ।