सवारी चालकले नै गर्छन् लागुऔषध सेवन, जोखिममा यात्रु, १७ जना चालक नियन्त्रणमा


भैरहवा– प्रहरीको छड्के जाँचमा सवारी चालकले नै लागूऔषध सेवन गरी सवारी चलाउने गरेको पाइएको छ । रुपन्देहीका चार ठाउँमा गरिएको छड्के जाँमा यस्तो तथ्य बाहिर आएको हो ।
जिल्ला प्रहरीले लागूऔषध सेवन गरेर यातायातका साधन चलाउने बिरुद्ध अपरेशन गर्दा केही चालक पक्राउ समेत गरेका छन् । उक्त अपरेशनका क्रममा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने १७ चालक पक्राउ परेका छन् । जिल्ला प्रहरीले ‘अपरेसन डेल्टा’ सञ्चालन गर्दै सिद्धार्थ राजमार्गसहित विभिन्न भित्री सडकखण्डमा आकस्मिक जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सार्वजनिक सवारीका चालकले लागुऔषध सेवन गरी सवारी चलाइरहेको विशेष सूचनाका आधारमा संयुक्त टोली परिचालन गरेर जाँच गर्दा १७ जना भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देही डीएसपी कृष्णकुमार चन्दले बताए । अभियानमा जिल्ला प्रहरी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जका प्राविधिक चिकित्सक सहभागी थिए ।
सवारी जाँचका क्रममा यात्रु बोकेर सञ्चालनमा रहेका सार्वजनिक सवारीका १ सय जना चालकको युरिन परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १७ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालकविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषध सेवन गरी सवारी चलाउँदा ठूला दुर्घटना तथा धनजनको क्षति हुन सक्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ । प्रहरीले भैरहवाको बुद्धचोक, धकधई, बुटवलको रामनगर र लुम्बिनीस्थित पर्साचोकमा एकैपटक छड्के जाँच गरेको थियो ।








प्रतिकृया दिनुहोस्