August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

Advertisement

रुपन्देही– वक्ताहरुले पत्रकारिताको भविष्य हिजो, आज र भोली पनि रही रहने बताएका छन् । जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य जीवित रहनेमा उनीहरुको जोड छ ।

Advertisement

नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) अन्तर्गत स्थानीय मिडिया कसरी बचाउने सम्बन्धी छलफल कार्यक्रममा सहभागीले पत्रकारितालाई अझ बलियो र सशक्त बनाउनुपर्नेमा जोड दिए ।

दैनिकपत्र दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईंले समाज रहेसम्म पत्रकारिता रहिरहने बताए । ‘जस्तोसुकै चुनौति आए पनि पत्रकारिताको भविष्य छ । पत्रकारिताले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो,’ उनले भने । मिडियाको महत्व कहिले पनि नघट्ने जनाउँदै सामाजिक न्यायको पक्षमा पत्रकारिताको वकालत गर्ने अवस्था आएको चापागाईंले जनाए ।

लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलमले सञ्चार क्षेत्र मात्र नभइ आर्थिक संकटका कारण धेरै क्षेत्र प्रभावित भएको बताए । उद्योग–व्यवसाय आफै थला परेकोले पनि मिडियामा विज्ञापनको अभाव रहेको उनको भनाई छ । मिडिया आवश्यताका आधारमा मर्ज गर्नुपर्ने उनको भनाइ छ । औद्योगिक क्षेत्रलाई मिडियाले पनि सहयोग गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

ग्लोबल सञ्चार गृहका प्रबन्ध सम्पादक गौतम भुसालले अब धेरै होइन, थोरै र राम्रो मिडिया हाउसहरु आवश्यकता रहेकोमा जोड दिए । उनले स्थानीय मिडिया संकटमा रहेको जनाए ।

रेडियो मुक्तिको स्टेशन म्यानेजर कल्पना तिवारीले मिडियालाई सेवामूलक उद्योगको रुपमा अगाडि बढाउन लागि रहेकोमा जोड दिइन् । उद्योगी–व्यवसायी र स्थानीय सरकारले मिडियालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

लुम्बिनीखबरका सम्पादक कमल रायमाझीले मिडिया सञ्चालनमा चुनौती भए पनि चुनौतीलाई अवसरको रुपमा बदल्न आवश्यक रहेको बताए । मिडियाभित्र पनि केही समस्या रहेको जनाउँदै यसका लागि आवश्यक काम गर्नुपर्ने उनको जोड छ ।
उनीहरुले संचारक्षेत्र कहिल्यै निस्तेज नहुने जनाउँदै बचाउनका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गरेका थिए ।