कहिले बन्लान भैरहवाका फुटपाथ हिंड्न लायक ?


भैरहवा– सहरमा सडकको जत्तिकै पैदलयात्रुका लागि छुट्याइएका फुटपाथको पनि महत्व हुन्छ । फुटपाथबाट बटुवा ओहोरदोहोर गर्छन् । बजारमा किनमेल गर्न जानेहरु पनि फुटपाथमै हिंडडुल गर्छन् । तर, सिद्धार्थनगर नगरपालिकाका फुटपाथ यात्रुका लागि सहज छैनन् । पैदल यात्रुका लागि निर्माण गरिएका फुटपाथमा मालसमान राखेर व्यापार भइरहेका छन् । कतै गाडी पार्किङ गरिएको छ । फुटपाथमा अवरोध भएपछि सर्वसाधरण सडक हुँदै यात्रा गरिरहेका देखिन्छन् ।
सिद्धार्थनगरको प्रमुख बजार क्षेत्रका सडक पेटी कतैं व्यापारिक त कतैं पार्किङ स्थल बनेका छन् । केही स्थानमा पहिले जस्तो फुटपाथमै सामान थुपारिएका छैनन् । तर, उनीहरुले सडक क्षेत्र ओगट्ने गरि निर्माण गरेका जस्तापाताका सेड र होर्डिङ बोर्ड हटाएका छैनन् । केही स्थानमा सामान नदेखिए पनि पसलका नाम उल्लेख गरिएका बोर्ड पुटपाथमै राखिएका छन् । फुटपाथमा बसेर मकैं पोल्नेदेखि ठेलामा चाट र फलफूल विक्री गर्नेहरुलाई अझैं व्यवस्थित गरिएको छैन ।
भैरहवाको आँखा अस्पताल बाहिर फुटपाथ र सडक क्षेत्र खाली छैन । फुटपाथ ओगटेर व्यापार भइरहेको छ भने धेरैं ठाउँमा पार्किङ गरिएको छ । आँखा अस्पताल लाइनका धेरैं ठाउँमा फुटपाथलाई पार्किङ क्षेत्र बनाइएको छ । अस्पतालदेखि उत्तर देवकोटा चोकसम्म सडकको पश्चिमपट्टि सर्भिस लेनमा रहेका फुटपाथ पनि चिटिक्क छैनन् । ठेरै ठाउँमा सर्वसाधरणले व्यापार गरिरहेको देखिन्छ भने ठूला होटलले फुटपाथलाई पार्किङ स्थल बनाएका छन् ।
भैरहवाको मुटुका रुपमा रहेको बैंक रोड सबैभन्दा अस्तव्यस्त छ । बैंक रोड किनमेलको केन्द्र पनि हो । तर, बैंक रोडका फुटपाथ नागरिकका लागि सहज छैनन् । पहिले जस्तो फुटपाथमै सामान राखिएका छैनन् । तर, पसलका सेड, होर्डिङ बोर्ड र विभिन्न सामाग्रीले फुटपाथ कुरुप बनेको छ । भीम अस्पताल भन्दा पश्चिमपट्टि भैरहवा ज्वेलर्स रहेको घर त फुटपाथमै छ । उक्त घरले आधा फुटपाथ ओगटेको छ । बैंकरोडका दायाँबायाँ अझैं फुटपाथ छेकिने गरि सामान र संरचना कायम छन् ।
भैरहवाको गल्लामण्डी अझै भद्रगोल छ । गल्लामण्डिका केही व्यवसायीले फुटपाथबाट सामान हटाएका छन् । तर, त्यस्ता सामान पसलबाहिर फुटपाथसँगैं राखेका छन् । धेरै किराना व्यवसायीले फुटमाथि गाडी चढाएर सामान लोड–अनलोड गरिरहेका दृश्य जतिबेला पनि देखिन्छन् । घण्टौं फुटपाथमा गाडी तेस्र्याएर सामान लोड–अनलोड गर्दा आसपासका आफूहरु मर्कामा परेको स्थानीय व्यापारी मोहम्मद हुसेन गुनासो गर्छन् । उपभोग्य सामान खरिदविक्रीका लागि परिचित गल्लामण्डीका फुटपाथ व्यवस्थित नहुँदा भद्रगोल र कुरुप देखिने गरेको छ । कति फर्निचर व्यापारीले फुटपाथमैं फर्निचर निर्माण गरिरहेका छन् । धेरैंका पसल अगाडि सामान असरल्ल छन् ।
संविधानले प्रत्येक नागरिकलाई सुरक्षित रुपमा आवतजावत गर्ने सार्वजनिक संरचनामा समान पहुँचको अधिकार सुनिश्चित गरेको छ । फुटपाथ पनि नागरिकको सार्वजनिक अधिकारसँग प्रत्यक्ष रुपमा जोडिएको क्षेत्र हो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिका लागि सुरक्षित फुटपाथ अत्यन्त आवश्यक मानिन्छ । यदि फुटपाथ व्यवस्थित नभएमा उनीहरुको स्वतन्त्र आवागमनमा अवरोध हुन्छ, जुन नागरिक अधिकारको उल्लंघन मान्न सकिन्छ । अहिले सिद्धार्थनगरका बासिन्दा सहरका फुटपाथ कहिले हिंड्न लायक बन्लान भनेर प्रतीक्षा गरिरहेका छन् ।
शान्तिनगरस्थित नरेन्द्रप्रसाद भण्डारीले फुटपाथ व्यवस्थित नहुँदा सास्ती भइरहेको जनाए । ‘कतै खाल्डाखुल्डी छन्, कतै फुटपाथ ओगटेर व्यापार गरिएको छ’, उनले भने, ‘यसको मर्कामा पैदलयात्रु छन् । खाली गराउन पालिकाले ध्यान दिनपर्छ ।’
हुनतः धेरै विपन्न परिवारको जीविकोपार्जन फुटपाथ व्यापारसँग पनि जोडिएको छ । बेरोजगारी र गरिबीका कारण कतिपय मानिस फुटपाथमा सानो व्यापार गरेर जीवन निर्वाह गरिरहेका छन् । त्यसैले फुटपाथ व्यवस्थापन गर्दा केवल हटाउने नीति मात्र नभई मानवीय दृष्टिकोण पनि जरुरी देखिन्छ । भैरहवामा विभिन्न ठाउँमा फुटपाथमा व्यापार गर्नेहरु धेरै छन् । तर, यस्ता व्यापारी भन्दा ठूला व्यापारीले फुटपाथ बढी कब्जा गर्ने गरेका छन् ।
स्थानीय सरकारले वैकल्पिक व्यापार क्षेत्र, व्यवस्थित खुला बजार तथा साना व्यवसायीमैत्री नीति लागू गर्न सकेमा पैदलयात्री र व्यवसायी दुवैको अधिकार संरक्षण हुनसक्छ । यसका लागि प्रभावकारी कानुनी कार्यान्वयन, सहरी योजना, नागरिक सचेतना र जिम्मेवार स्थानीय शासन आवश्यक हुन्छ । व्यवस्थित फुटपाथले सहरलाई सुन्दर बनाउने मात्र होइन, नागरिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण आधार पनि तयार गर्छ ।
तर, भैरहवामा त्यस्तो प्लानिङ बनाउन स्थानीय सरकार चुकेको छ । भैरहवाको भित्रीदेखि मुख्य सडकका फुटपाथ कब्जामा छन् । कतै निर्माण सामाग्री असरल्ल राखिएका छन् । फुटपाथमा हिंडडुल गर्न धौं–धौं हुने गर्छ ।
नगरपालिकाले फुटपाथ लगायत अतिक्रमित क्षेत्रबाट आफ्ना सामान हटाउन बैशाख १ गते १५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा सहरका कुन कुन क्षेत्र अतिक्रममा परेका छन् भन्ने पत्ता लगाउने काम भएकोकाले अब अतिक्रमित क्षेत्र खाली गराइने प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । ‘हामीले यसअघि पनि पटक–पटक फुटपाथ खाली गराएका थियौं, अब पनि खाली गराउँछौं । कुनै पनि हालतमा नागरिक अधिकारी खुम्चिन दिँदैनौं’, उनले भने ।








प्रतिकृया दिनुहोस्