लुम्बिनी बौद्ध विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग


भैरहवा– लुम्बिनी बौद्ध विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गरी उपकुलपति पदमा दरखास्त मागेको हो ।
समितिले बौद्ध विश्वविद्यालयसँगै अन्य सात विश्वविद्यालयका लागि पनि उपकुलपतिको आवेदन माग गरेको छ । इच्छुक र योग्य उम्मेदवारले आज वैशाख २५ देखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
यसअघि बौद्ध विश्वविद्यालयको उपकुलपतिमा सुवर्णलाल बज्रचार्य थिए । सरकारले जारी गरेको अध्यादेशका कारण लुम्बिनीसँगै अन्य विश्वविद्यालयका पदाधिकारी स्वतः पदबाट बर्खास्त भएका थिए ।
समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपतिमा आवेदन माग गरेको छ ।
रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सरकारले अध्यादेश मार्फत् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिसँगै रजिष्ट्रार लगायतलाई पदमुक्त गरेको थियो ।








प्रतिकृया दिनुहोस्