कपिलवस्तुका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित


कपिलवस्तु–कपिलवस्तु जिल्लामा पूर्ण खोप सुनिश्चित हुने स्थानीय तहको संख्या पाँच पुगेको छ । पछिल्लो पटक विजयनगर गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएसँगै कपिलवस्तुमा पूर्ण खोप सुनिश्चित स्थानीय तहको संख्या पाँच पुगेको हो । विजयनगर गाउँपालिका बुधवार पूर्ण खोप सुनिश्चित घोषणा भएको हो ।
विजयनगर गाउँपालिकामा एक वर्षमुनिका १ हजार १ सय १९ जना तथा ६ देखि २३ महिनासम्मका १ हजार ५ सय ६२ जना बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जनाए ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, चालु आवमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप नियमित रूपमा प्रदान गरिएको छ । घोषणा भएका पालिकामा शतप्रतिशत खोप सुनिश्चित गरिएको छ । बाँकी रहेका स्थानीय तहमा छुटेका बालबालिकालाई खोजी–खोजी खोप लगाउने अभियान सञ्चालन भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन केदारनाथ शाहले, यसअघि कपिलवस्तुका बुद्धभूमि, बाणगंगा र महाराजगन्ज नगरपालिका तथा शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेको र बाँकी पाँच पालिका पनि घोषणा प्रक्रियामा रहेको बताए ।








प्रतिकृया दिनुहोस्