कुशल नेतृत्वकर्ता उज्ज्वलकुमार श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा विजयी


भैरहवा– रुपन्देहीको प्रतिष्ठित औद्योगिक घराना पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन् । महासंघको एगराति सार्वजनिक परिणाम अनुसार श्रेष्ठले १ हजार १ सय ५६ मत प्राप्त गर्दै कार्यसमिति सदस्य पदमा निर्वाचित भएका हुन् ।
साढे पाँच दशकको इतिहास बोकेको पंचकन्या समूहको पछिल्लोपटक मुख्य जिम्मेवारी सम्हालिरहेका श्रेष्ठ यसअघि पनि सोही पदमा निर्वाचित भएर काम गरेका थिए । युवा उद्यमशिलता विकासका लागि लामो समयदेखि काम गर्दै आएका श्रेष्ठको औद्योगिक समूहमा हजारौं रोजगाररत छन् ।
पंचकन्याका समूहका स्टिल्स, एचटीपी, पीभीसी, पीपीआर र सीपीभीसी प्लम्बिङका उत्पादनहरु बजारमा छन् । स्टेनलेस स्टिल वाटर ट्यांक, यूपीभीसीका झ्याल ढोका, रेडिमिक्स कंक्रिट, हलुका प्रविधिको भवन निर्माण लगायतका बिजनेसमा पञ्चकन्या सामेल छ । बिटुमिन, हेभी इक्विपमेन्ट, बाइकहरुको आपूर्ति र व्यापारमा पनि पञ्चकन्या संलग्न छ ।
पटकपटक सरकारका विभिन्न निकायबाट सम्मानित हुँदै आएको यो समूह निजी क्षेत्रमा पारदर्शी ढंगले व्यापार गर्ने कम्पनीका रुपमा समेत पहिचान बनाएको छ । श्रेष्ठको जितले नेपाली युवाहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराएको रुपन्देहीका युवा उद्यमीहरु बताउँछन् ।
कुशल योजनाकार, नेतृत्व क्षमता र दूरदृष्टि बोकेका श्रेष्ठले निजी क्षेत्रको उत्थानमा महासंघको तर्फबाट महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । उनी आबद्ध उद्योगहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, गरिब तथा विपन्न परिवारलाई समेत सहयोग गर्दै आएका छन् । जसले गर्दा रुपन्देहीमा मात्रै नभएर मुलुकमै पंचकन्या समूहले छुट्टै पहिचान बनाउँदै आएको छ ।

पंचकन्या समूहले श्रमिकहरुको हकहीतमा समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुरुप सेवासुविधा, कार्यक्षत्रमा सुरक्षा, सर्वोपरी श्रमिकहरुको उच्च सम्मान गरेको भन्दै श्रम दिवसका अवसरमा उक्त समूह अन्तर्गतको पंचकन्या स्टिललाई यस वर्ष विशेष सम्मान समेत गरिएको थियो । श्रम तथा रोजगार कार्यालय, बुटवलले उक्त सम्मान गरेको हो । यतिमात्र होइन्, उक्त समूह अन्तर्गतका उद्योगहरुले विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान समेत पाइसकेका छन् ।








प्रतिकृया दिनुहोस्