August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित

Advertisement

भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । गएराति सार्वजनिक मतपरिणाम अनुसार शर्मा जिल्ला–नगर उपाध्यक्षतर्फ अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन् ।

Advertisement

शर्माले ८७ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी भएका हुन् । उनी अञ्जन श्रेष्ठ समूहबाट चुनावी मैदानमा होमिएका थिए । शर्मा सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निवर्तमान अध्यक्ष समेत हुन् ।

नेतृत्व क्षमता र कार्यकुशलताले सधैं निजी क्षेत्रमा उनी अग्रणी भागमा रहँदै आएका छन् । २०६७ देखि हालसम्म निरन्तर महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा काम गरेका शर्मा यसअघि तत्कालीन लुम्बिनी अञ्चलबाट समेत दुई वर्ष कार्यकारिणी सदस्य भएर काम गरेका थिए ।

उनी २०५१ देखि २०५८ सम्म सिद्धार्थ उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यका रूपमा काम गरेर गरेका थिए । संघका काम गरेर सांगठनिक अनुभव बटुलेका शर्मा प्रष्ट स्वभावका उद्योगी नेता हुन् । २०५८ देखि २०६० सम्म सिद्धार्थ उद्योग बाणिज्य संघको कोषाध्यक्ष, २०६० देखि २०६२ सम्म उपाध्यक्ष र २०६२ देखि २०६४ सम्म संघको अध्यक्ष बनेर उनले नेतृत्वदायी भूमिका निभाएका थिए ।

तीन दशकदेखि निजी क्षेत्रको हकहीतका लागि काम गर्दै आएका शर्माको जितले रुपन्देही, लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै निजी क्षेत्र क्षेत्रमा उत्साह थपिएको सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिबहादुर थापाले बताए ।