भैरहवाको रोयल कालिङ्गा क्यासिनोबाट १९ नेपाली पक्राउ


भैरहवा– प्रहरीले रुपन्देहीको भैरहवास्थित एक क्यासिनोबाट नेपालीहरुलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर नगरपालिका–१० स्थित होटेल गौतम बुद्ध इन्टरनेशनलमा रहेको रोयल कालिङ्गा क्यासिनोबाट गएराति प्रहरीले १९ जना नेपालीलाई नियन्त्रणमा लिएको हो ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीको क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र खेल्ने कार्यमा संलग्न १५ जना गरी १९ जनालाई नियन्त्रणमा लिएको हो ।
डीएसपी चन्दका अनुसार पक्राउ पर्नेहरुमा सिद्धर्थनगर नगरपालिका–६ गल्लामण्डी बस्ने २२ वर्षीय अभयकुमार गुप्ता, सिद्धार्थनगर–२ बस्ने २६ वर्षीय सुशान्त अधिकारी, सिद्धार्थनगर–१३ बस्ने २८ वर्षीय सन्जय शाक्य र रुपन्देहीकै ओमसतिया गाउँपालिका–२ बस्ने २९ वर्षीय निक्षेन्द नेपाल छन् ।
यसैगरी काठमाडौंका ५० वर्षीय जीवन थापा, रुपन्देहीका ३२ वर्षीय आकाश गुप्ता, ३३ वर्षीय सुनारी मगर, २९ वर्षीय अब्दुल कलाम जोलहा, ५८ वर्षीय अभिषेक शर्मा, ४४ वर्षीय शिव पाण्डे, ३४ वर्षीय रोहन विक भन्ने तिलबहादुर विक, २१ वर्षीय सुरज जयसवाल, १८ वर्षीय रमेश यादव, ३८ वर्षीय निर्मल बस्याल र ३० वर्षीय भरत थापा पनि पक्राउ परेका छन् ।
यसैगरी गुल्मीका नेत्र पोख्रेल, ललितपुर ५० वर्षीय बाबुराजा महर्जन र पर्साको वीरगञ्ज महानगरपालिका–७ का ४४ वर्षीय जंगकुमार अग्रवाल पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट ९५ हजार ५ सय रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्