July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

५० वर्ष पुग्यो बहिरा बाल मावि, नेपाल–भारतका २४३ विद्यार्थी अध्ययनरत

Advertisement

भैरहवा– कान सुन्न नसक्ने विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना भएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । २०३२ सालमा श्रवण शक्ति नभएका विद्यार्थीहरुलाई अध्ययन–अध्यापन गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–२ मा विद्यालय स्थापन गरिएको थियो । पूर्वाधार र साधनस्रोतको अभावकाबीच हाल विद्यालयमा श्रबण शक्ति नभएका मुलुक भित्र र भारतसम्मका विद्यार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् ।

Advertisement

विद्यालयका प्राचार्य भीम बहादुर थापाका अनुसार मुलुकका ३६ जिल्ला र भारतका विभिन्न स्थानका विद्यार्थीहरु अध्धयनरत छन् । ५० वर्षको अन्तरालमा सयौं विद्यार्थीहरुले यहाँबाट विद्यालय तहको शिक्षा आर्जन गरेर उच्च शिक्षा पढ्नका लागि अन्यत्र गइसकेका छन् । कतिपय सरकारी सेवामा समेत कार्यरत छन् ।

‘सरकारी तहबाट ५० वर्ष अघि स्थापना भएको विद्यालय भए पनि यहाँ पर्याप्त खेल मैदान, छात्राबास, पूर्वाधार र विद्यार्थीहरुको रुचि अनुसारको शिक्षण सिकाई हुन सकेको छैन’, प्राचार्य थापाले भने, ‘विद्यार्थी अनुसार शिक्षक–शिक्षिकाको पनि अभाव छ । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ ।’

मंगलबार स्वर्ण महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको उनको जोड छ । श्रवण शक्ति कम भएका विद्यार्थीहरु अध्धयन गर्ने यो विद्यालयको भौतिक पूर्वाधार सुधारमा प्रदेश सरकारले ध्यान दिने उनले प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीहरुले आफूलाई अब्बल सावित गर्न पढाईमा ध्यान दिन आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले राज्यले फरक क्षमता भएका नागरिकका लागि अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै यस्ता विद्यार्थीहरूको पठनपाठन र सीप विकासका विषयमा नजिकबाट बुझ्न पाउँदा खुशी लागेको बताए । वि.सं. २०३२ सालदेखि सुनाइ सम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो ।

अशक्त भएका बालबालिकाका लागि पहुँचयुक्त, समावेशी र व्यवहारिक शिक्षा प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यस्ता विशेष विद्यालयहरूको सुदृढीकरण, स्रोतसाधन विस्तार तथा दक्ष जनशक्ति व्यवस्थापनमा निरन्तर सहयोग रहने जनाए ।

यो विद्यालय श्रवण शक्ति नभएका विद्यार्थीहरु अध्ययन गर्ने लुम्बिनी प्रदेशको एक मात्र विशेष विद्यालय हो । पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म पढाई हुँदै आएको विद्यालयमा नेपाल–भारतका गरी २ सय ४३ जना विद्यार्थीहरु अध्ययनरत छन् । यसमध्ये १ सय ३५ विद्यार्थीहरु छात्रा बासमा बस्दै आएका छन् । विद्यालयमा ३५ जना शिक्षक–शिक्षिका र कर्मचारीहरु कार्यरत छन् । विद्यार्थीहरुको अतिरिक्त सिकाईका लागि सिलाईकटाई लगायत सीप सिकाइँदै आएको छ ।

विद्यार्थीहरुलाई घरबाट विद्यालयसम्म ल्याउन–लैजानका लागि दुई वटा बस मार्फत् सुविधा दिइँदै आएको छ । श्रवण शक्ति नभएका विद्यार्थीहरुलाई कोशेढुंगा सावित भएको विद्यालयमा पर्याप्त पूर्वाधार र शिक्षण सिकाईका लागि आधुनिक विज्ञान ल्याब लगायतका सुविधा भने छैनन् । यसतर्फ तीनै तहका सरकारले ध्यान दिनुपर्ने विद्यालयको माग छ ।