ओझेलमा रामग्राम स्तुप


भैरहवा–पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपको विकास, खोज र अन्वेषणमा पर्याप्त चासो नदिएको भन्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादबले लुम्विनी विकास कोषको पटक-पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
आफ्नो स्थानीय तह भित्रपर्ने स्तुपमा आफैले विनियोजन गरेको बजेट खर्च गर्नपनि कोषको अनुमती लिनुपर्ने बाध्यता रहेको भन्दै पुरातत्व विभागले स्तुपक्षेत्रको उत्खनन्लाई निरन्तरता दिनुपर्ने उनले बताए । ‘लुम्बिनी विकास कोषले पर्याप्त ध्यान र योजना नल्याएपछि हामी आफैले रामग्राम विकास कोष स्थापना गरेर काम गरिरहेका छौ,’ नगर प्रमुखयादबले भने, ‘लुम्बिनी बिकास कोषले रामग्रामलाई स्वायत्त छाडेर कामगर्न दिनु पर्दछ ।’
स्तूपको मुख्य कोर क्षेत्रमा अझै उत्खनन गरिएको छैन् । कोर क्षेत्रमा उत्खनन गर्ने वा नगर्ने भन्ने निश्चित छैन् । स्तुपको रहस्य यसैमा अडिएको छ । स्तूप सन् १९९६ मा नै यूनेस्कोको विश्व सम्पदा सूचीको टेन्टेटिभ लिस्ट (अस्थायी सूची) मा समावेश भएपनि राज्यले पर्याप्त पहलगर्न नसक्दा सूचीकृत हुन सकेको छैन् । रामग्राम संग सम्बन्धित मावली घर पण्डितपुरमा बुद्धकालीन समयको बस्तु र संरचना फेला परेको छ । पुरातत्व विभागले गरेको उत्खननमा बुद्धकालीन सहरको संरचना फेला परेको हो ।
२०८२ सालमंसिरमा गरिएको उत्खननगर्दा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला परेको हो । यस अगाडि पनि हामीले यो क्षेत्रमा उत्खनन गर्दा बुद्धकालीन समयको सहरको संरचना फेला परेको पुरातत्व विभागको भनाइछ । उत्खननमा पर्खालका अवशेष, प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहना र कुषाणकालीन तामाका सिक्का फेला परेका छन् ।
२०८१ मा भएको उत्खननमा चक्र आकारमा व्यवस्थित सहरको संरचना जमिनमुनि भेटिएको बस्तुलाई बेलायतमा लगेर परिक्षण गरिएको थियो । अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचरना इशापूर्व छैटौ शताब्दीका भएको पुष्टि भएको पुरातत्व विभागले जनाएको छ । करिब ६० बिगाहामा फैलिएको पण्डितपुर क्षेत्रमा अहिले बस्ती तथा खेती छ । नीजि जग्गा भएकाले यसलाई अधिग्रहण गर्नुपर्ने भएपनि बजेट अभावमा अधिग्रहण हुन सकेको छैन् । फेला परेका पुरातात्विक बस्तुको संरक्षणको लागि जग्गा अधिग्रहण गरेर संरक्षण गर्ने योजना भएपनि बजेट अभाव रहेकाले केन्द्र सरकारले यसमा ध्यान दिनुपर्ने रामग्राम विकास कोषको भनाइ छ ।
रामग्राम स्तूप र पण्डितपुरको विकासमा मुख्य चुनौती भनेको नै लुम्बिनी–केन्द्रित विकास योजना हो । हरेकवर्ष हजारौ विदेशी भक्तजन र पर्यटक आउने स्तुप वरपर बस्न मिल्ने संरचना, होटल र गतिलो शौचालय समेत छैन् । जसले गर्दा ध्यान र योगगर्न स्तुपमा आउने भिक्षु, पर्यटक चाहेर पनि यो पवित्र भूमिमा बस्न सक्दैनन् । फर्किएर लुम्बिनी नै जानुपर्ने बाध्यता छ । लुम्बिनी विकास कोषले ‘लुम्बिनी सर्किट’ अन्तर्गत रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धकालीन स्थलको गुरुयोजना बनाएको छ । तर, कार्यान्वयन गर्न सकेको छैन । स्थानीयहरूका अनुसार विकास मुख्य रूपमा लुम्बिनीमै केन्द्रित छ, रामग्राम ओझेलमा परेको छ ।
लुम्बिनी विकास कोषले स्तुपको विकास निमार्णमा ध्यान नदिएको भन्दै रामग्राम नगरपालिकाले छुट्टै रामग्राम विकास कोष स्थापना गरेको छ । जसको अध्यक्ष नगर प्रमुख रहने ब्यवस्था छ । यसले स्तुपको विकास निमार्ण , संम्बद्र्धन र पर्यटकिय क्षेत्रको विकासमा काम गर्नेछ । नागरिक अगुवा शम्भु उपाध्याय ले लुम्बिनी विकास कोषले नै रामग्रामलाई ओझेलमा पारेको गुनासो गरे । विश्व सम्पदा सूचीमा सूचिकृत हुने क्रममा रहेको क्षेत्रको विकासमा कोषले ध्यान नदिएको उनको आरोप छ । लुम्बिनी जस्तै पर्यटकिय हब बन्न सक्ने प्रशस्त आधार भएको स्तुप क्षेत्रमा मुख्य समस्या भनेको पर्यटकका लागि आवास, यातायात, ध्यान केन्द्र र आधारभूत पूर्वाधारको कमी छ ।
उत्खन नभएका संरचनापनि संरक्षण नहुँदा पटक–पटक खनेर पुरिने अवस्था छ । पर्यटकले संरक्षण र व्यवस्थापनको अभाव महसुस गरेका छन् । लुम्बिनी विकास कोषले भने पर्याप्त बजेट नहुदा सोचे अनुसार कामगर्न नसकिएको बताउदै आएको छ ।
लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राइका अनुसार बिश्व बैकको लगानीमा सुरु हुन लागेको ‘लुम्बिनी सर्किट’ अन्तर्गत बुद्ध संग सम्बन्धित स्थलहरुमा पूर्वाधार विकास तथा अन्य कामहरु सुरु हुन लागेको बताए । ‘हामीले पनि पुरातत्व विभागको निर्देशन र योजना अनुसार भौतिक निमार्णको काम गर्नुपर्ने अवस्था छ,’ उनले भने,‘ रामग्राम स्तुपको विकासलाई पनि लुम्बिनी र अन्य बुद्धसंग सम्बन्धित स्थलहरु संगै काम अगाडि बढाइने छ । उत्खननका लागिपनि हामीले योजना बनाएका छौं ।’








प्रतिकृया दिनुहोस्