पाहुना आउन थालेको ४१ वर्षमा लुम्बिनी पर्यटनको केन्द्र


भैरहवा– सन् १९८२ सम्म लुम्बिनीमा एउटै होटल–लज खुलेको थिएन । सन् १९८५ मा पडरियामा ४ कोठा र दुइवटा डर्मोटरी भएको बुद्ध होटल खुल्यो । ‘त्यही लुम्बिनीको पहिलो पाहुना घर थियो,’ बरिष्ठ पुरातत्वविद बसन्त विडारीे भन्छन्, ‘त्यो पनि उच्च पदस्थ ब्यक्तिको आवासका लागि बनाइएको थियो ।’ अहिले लुम्बिनीमा तारे स्तरका ४ होटल सहित ८० भन्दा बढी होटल तथा रेस्टुरेन्ट संचालनमा छन् । लुम्बिनीको राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा ४० वर्ष अघि नै ब्राण्डिङ सुरु भएको विडारीले जानकारी गराए ।
विडारीका अनुसार तत्कालीन इष्ट इन्डिया कम्पनी अन्तर्गतका पुरातत्वबिदले चिनियाँ यात्रीका विवरण पछयाउँदैं खोज गर्नेक्रममा सन् १८९६ डिसेम्बर १ मा लुम्बिनी पुनः पत्ता लागेको थियो । जब लुम्बिनी पत्ता लाग्यो, त्यसपछि एक–दुई जना तीर्थयात्री आउन थालेका थिए ।
‘सुरुवातमा आफै खानेकुरा लिएर, ओढ्ने, ओछ्याउने बोकेर लुम्बिनी अवलोकन गर्न आउन थाले,’ विडारीले भने, ‘त्यसबेला आवागमन सहज थिएन । लामो समय लगाएर खोज्दै डुल्दै आउँथे ।’ लामो अवधि लुम्बिनीमा आवासको व्यवस्था थिएन । पर्यटक आए पनि आफैले बास खोजेर बस्नुपथ्र्यो । अहिले लुम्बिनीको अवस्था फेरिएको छ । बुद्ध जन्मस्थलमा बाह्रैमास पर्यटकको चहलपहल हुन्छ । हिउँदको चिसो ठिरौटो होस् कि असार–साउनको झमझम दर्किने झरीमा पर्यटक लुम्बिनी पुग्छन् ।
शान्तिदीपदेखि पवित्र उद्यान क्षेत्रमा रहेको मायादेवी मन्दिरमा विभिन्न मुलुकबाट आएका बुद्ध धर्मावलम्बी लगायत पर्यटक डुलिरहेका देखिन्छन् । प्रत्येक दिन भीडभाड भइरहने लुम्बिनी क्षेत्रमा कुनै चाड वा अवसरका बेला आगन्तुकले खचाखच हुने गरेको छ । २०८३ सालको पहिलो दिन लुम्बिनीमा पूजा र घुमफिर गर्नेको घुइँचो लाग्यो ।
लुम्बिनी विकास कोषका अनुसार नयाँ वर्षको पहिलो दिन ३० हजार पर्यटक आएका थिए । अधिकांश नयाँ वर्षको दिन लुम्बिनीको शान्ति र मनोरम वातावरणमा रमाउन आएका थिए । लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माका अनुसार लुम्बिनी आध्यात्मिक स्थलसँगैं स्वदेशी पर्यटकका लागि वर्षमा एकपटक पुग्नै पर्ने गन्तव्य बनिसकेको छ ।
‘लुम्बिनी पवित्र उद्यानसँगै विश्व शान्तिको मुहान हो,’ उनले भने, ‘लुीम्बनीमा महशुस हुने शान्तिका लागि बौद्ध धर्मावलम्बीमात्र नभएर सबै जातजाती, धर्म, संस्कृतिका मानिस आइरहेका छन् ।’ लुम्बिनीको पुरातात्विक पाटोको प्रचारसँगैं आध्यात्मिक वातावरण बनाएर धेरै पर्यटक आकर्षित गर्न सकिने उनको भनाई छ ।
सबैं धर्मका आ–आफ्ना धाम र धार्मिक स्थल भएजस्तै बुद्ध धर्मावलम्बीका लागि लुम्बिनी सबैभन्दा महत्वपूर्ण स्थल हो । लुम्बिनी शान्ति कुटनीतिका लागि पनि प्रमुख गन्तव्य हो । दैनिकजसो विश्व शान्तिको कामना गर्दै पूजापाठ र कार्यक्रम भइरहेका हुन्छन् । राजधानी काठमाडौंमा कुनैं अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन आएका राष्ट्र प्रमुखदेखि कुटनीतिक नियोगका प्रतिनिधि लुम्बिनी भ्रमणमा आउने गरेका छन् ।
यसबाहेक विभिन्न मुलुकबाट आउने नागरिकको संख्या उलेख्य छ । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२४ मा ७ लाख ५९ हजार ९ सय ९० नेपाली पर्यटक आएका थिए । भने, ३ लाख ८ सय ८९ भारतीय र १ लाख ११ हजार ४ सय ३ तेस्रो मुलुकबाट पर्यटक आएका थिए । सन् २०२५ मा ७ लाख २ हजार ९ सय १० नेपाली, २ लाख ६९ हजार १ सय ८७ भारतीय र १ लाख ४० हजार ९ सय ६९ जना पर्यटक तेस्रो मुलुकबाट आएका थिए । सन् २०२४ मा ७७ मुलुकका नागरिक लुम्बिनी घुम्न आएका थिए । सन् २०२५ मा ७६ मुलुकका नागरिक लुम्बिनी आएका थिए ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई जुनसुकनै उपमा दिए पनि हुन्छ । बुद्ध धर्माबलम्वी र अनुयायी तिर्थाटन गर्न आउँछन् । शुभेच्छुक र शुभचिन्तक शान्ति र सद्भावको ऊर्जा लिन आउने गर्छन् । घुम्न आउनेले यहाँ मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको स्तम्भ मात्र छ ठान्छन् । यथार्थ त्यसो होइन । यो विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात् ‘मिनि बुद्ध वल्र्ड’ हो । यहाँ विभिन्न मुलुकका मन्दिर, विहार र गुम्बाका बनावट चित्ताकर्षक छन् ।
अहिलेसम्म पर्यटक भौतिक कुरा हेरेर फर्किने गरेका छन् । बुद्ध दर्शनबारे बुझाउन सकिएको खण्डमा विश्वभरबाट पर्यटकको ओइरो लाग्ने विश्वास स्थानीयको छ । प्रत्येक वर्ष विश्वका महत्वपूर्ण व्यक्तिको पनि लुम्बिनीमा आगमन भइरहेको हुन्छ । सन् २०२४ मा संयुक्त राष्ट्रसंघको तर्फबाट अष्टे«लियाका रेबेका ग्राउण्ड, जापानका तमुरात ताकेहितो, युनेस्कोको कुटनीतिक तथा प्राविधिक मिसनमा कार्यरत नारायण मानन्धर, युनेस्को दक्षिण एसियाका निर्देशक एरिक फल्ट आएका थिए । थाइल्याण्ड, श्रीलंका, म्यानमार र भियतनामका उच्च पदस्थ भिक्षु तथा सरकारी पदाधिकारीको पनि लुम्बिनीमा भ्रमण भएको थियो ।
बौद्ध धर्मावलम्बीको दिग्गनिकायको महापरिनिर्वाण सूत्रमा मृत्यु शय्यामा पुगेका बेला गौतम बुद्धले अनुयाईलाई आफ्नो जीवनकालका महत्वपूर्ण चार स्थल पुग्नुपर्ने बताएको उल्लेख पाइन्छ । आफू जन्मिएको स्थान लुम्बिनी, ज्ञान प्राप्त गरेको बौद्धगया, पहिलो पटक धर्मदेशना दिएको सारनाथ र महापरिनिर्वाण मिलेको कुशीनगर पुग्नै पर्ने बताएका थिए । बुद्धले उल्लेख गरेका यी ठाउँलाई जोडेर ‘बुद्ध सर्किट’ बनाइएको छ ।
अधिकांंश बुद्ध धर्मावलम्बी भारतमा रहेका तीन स्थल भ्रमण गरेर लुम्बिनी आउने गरेका छन् । ‘बुद्धले मृत्यु वरण गर्नु भन्दा पहिल्यैं लुम्बिनीको ‘ब्राण्डिङ’ गरिसकेका हुन्,’ लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानीन राईले भने, ‘अहिले हामीले बुद्धको त्यही सन्देश विश्वभर फैलाएमात्र पुग्छ ।’
लुम्बिनी क्षेत्रमा थुप्रै पुरातात्विक स्थल छन् । बुद्धसँग जोडिएका धेरै स्थानको संरक्षण र बिकास हुन बाँकी छ । अहिलेसम्म बिकास भएको बुद्ध जन्मस्थल लुम्बिनी हो । आकर्षणका रुपमा धेरै विहार र मन्दिर छन् । लुम्बिनीको पश्चिम क्षेत्रमा जर्मनीको द ग्रेट लोटस स्तुप आकर्षक छ । सरसफाई, हरियाली र रंगीचंगी फूलले वातावरणलाई मोहक तुल्याउँछ । त्यहाँ बुद्धको जीवनी मुर्ति मार्फत् प्रर्दशन गरिएको छ । बुद्धको गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देख्न पाईन्छ । आकर्षक कलाकृती र पेन्टिङ छ ।
लुम्बिनीमा अहिले ३८ विभिन्न मुलुकलाई प्रतिनिधित्व गर्ने विहार र मन्दिर छन् । ती विहारमा सम्बन्धित मुलुकका कला, संस्कृति झल्काउने मूर्ति, चित्र र विभिन्न प्रदर्शन छन् । सन् १९५६ मा स्वर्गीय राजा महेन्द्रले सडक, विहार र धर्मशाला निर्माण गरेर लुम्बिनी विकासको थालनी गरेका थिए । सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिब उत्थान्तले लुम्बिनी भ्रमण गरे ।
यस्तो महत्वपूर्ण स्थलको दयनीय अवस्था देखेर लुम्बिनीको विकासलाई अन्तर्राष्ट्रिय मुद्दा बनाए । १९७० मा संयुक्त राष्ट्र संघको आह्वानमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति बन्यो । त्यसैवर्ष जापानी वास्तुकलाविद् केन्जो टाँगेलाई लुम्बिनीको गुरुयोजना बनाउन नियुक्त गरियो । १९७८ मा नेपाल सरकारले उनको गुरुयोजना स्वीकृत गर्यो । गुरुयोजनाको काम अहिले पनि जारी छ । १९८५ मा लुम्बिनी विकास कोष गठन भयो । सन् १९९३ देखि यहाँ विहार मन्दिर बन्न थाले । त्यसपछि विकासको कामहरु देखिन थाल्यो । १९९७ मा लुम्बिनी विश्व सम्पदामा सुचिकृत भयो ।








प्रतिकृया दिनुहोस्