सकियो भैरहवा बहुमुखीमा दुई दिने कार्यशाला


भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा दुई दिने ‘रिसर्च पेपर राइटिङ तथा एसपीएसएस’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत रहेको अनुसन्धान विभागले आयोजना गरेको उक्त कार्यक्रममा ४० जना विद्यार्थीहरू सहभागी थिए ।
विद्यार्थी कल्याण प्रमुख उप–प्राध्यापक अरुणा तिवारी भुसालले कार्यशालाले विद्यार्थीहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान गरेको जनाइन् । कार्यशालामा सहभागी एमवीएस तर्फका विद्यार्थी राजेन्द्र राईले आफूहरुले सिकेका सबै कुराहरुलाई व्यवाहारिक र खोजमूलक रुपमा लैजाने जनाउँदै भोलिका दिनमा अनुसन्धानात्मक आर्टिकल प्रकाशन गर्न सक्ने क्षमतावान भएको जनाए ।
क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले क्याम्पससँग राम्रो तालिम प्राप्त प्राध्यापकहरु रहेको जनाए । जुनबेला पनि विद्यार्थीले समय मिलाए समस्या समाधनमा सहयोग लिन सक्ने उनले बताए । कार्यशालाले विद्यार्थीहरूलाई अनुसन्धानमुखी अध्ययनतर्फ प्रेरित गरेको बताउँदै उनले सिकेका कुराहरुलाई व्यवाहारिक रुपमा लागू गर्न आग्रह गरे ।
विद्यार्थीलाई अनुसन्धानका चुनौतीहरु, शीर्षक छनोट, समस्या समाधानका उपाय लगायतका १० वटा विषयहरुमा प्रशिक्षण दिइएको कार्यशाला संचालन समितिका संयोजक उप–प्राध्यापक प्रकाश भट्टराई जानकारी दिए ।
अनुसन्धान विभागका प्रमुख डा.सहदेव भट्टले आजको समाज अनुसन्धानमुखी बन्दै गएको उल्लेख गर्दै खोजमूलक विषयलाई बाहिरी वातावरणसँगै कक्षा कोठाको पढाईसँग जोडेर विद्यार्थीहरुमा अनुसन्धानको ज्ञान बढाउँदै लैजाने बताए । उनले जेठ ९ र १० गते व्यवस्थापन संकायका स्नातकतर्फका विद्यार्थीहरुको कार्यशाला आयोजना गरिने बताए ।
कार्यशालामा डा.मुक्ति पौडेल, डा.पिताम्बर तिवारी, उज्ज्वल अधिकारी, दिवाकर पाण्डे, डा. सहदेव भट्ट, धनेश्वर तिमिल्सिना लगायतले दुई दिनसम्म प्रशिक्षण दिँदै आर्टिकल लेखन र अनुसन्धानात्मक शिक्षा सुधारमा लैजान जोड दिएका थिए ।








प्रतिकृया दिनुहोस्