बुद्ध जयन्तीको अवसरमा २५ सय ७० बृक्षारोपण योजना शुभारम्भ


भैरहवा–यस पटकको २५७० औं बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी बिश्व शान्ति मञ्चले २५ सय ७० वटा फलफूलजन्य बृक्षारोपण योजनाको शुभारम्भ गरेको छ । मञ्च, जलवायु परिवर्तन तथा वाताबरण संरक्षण र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित गैर सरकारी संस्था हो ।
मञ्चले, नेपालमा १० लाख बृक्षारोपण गरेर हुर्काउने अभियान अन्तर्गत यस बर्षको बुद्ध जयन्तीको अवसर पारेर २५ सय ७० वटा बृक्षारोपण कार्य शुक्रवार भैरहवा र लुम्बिनीबाट सुरु गरेको हो । बुद्ध जयन्तीको अवसरमा मञ्चले शुक्रवार भैरहवामा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।
बातावरण संरक्षणकै क्षेत्रमा अष्ट्रेलियाको सिड्नीमा गैर आवासीय नेपाली नागरिकहरुले स्थापना गरेको ‘रिसाइकल टु रिभाइभ’ नामक संस्थाले मञ्चको २५ सय ७० बृक्षारोपण गर्ने योजनालाई अभियानमा सहकार्य गरेको छ ।
२५ सय ७० वटा बृक्षारोपण गर्ने कार्य दुई महिनाभित्र सक्ने र ती बिरुवा लुम्बिनी–भैरहवा क्षेत्रमा बृक्षारोपण गरिने जानकारी मञ्चका अध्यक्ष तथा संस्थापक बासु गौतमले दिए । भैरहवास्थित भैरहवा उच्च माविमा १ सय ८ वटा र लुम्बिनीस्थित बुद्ध आदर्श माविमा १ सय वटा बिरुवाको बृक्षारोपण गरिएको हो ।
गौतमका अनुसार, सन् २०१९ मा काठमाडौंको धापाखेल नागदहबाट सुरु गरिएको नेपालमा १० लाख बिरुवा बृक्षारोपण गर्ने अभियान अन्तर्गत हालसम्म नेपालका विभिन्न जिल्लामा गरि १ लाख ९५ हजार ७ सय बृक्षारोपण भइसकेको छ । सन् २०३० मा यो अभियान सम्पन्न गर्ने लक्ष्य छ । सगरमाथाको उचाइ अनुरुप सोलुखुम्बुमा ८ हजार ८ सय ४८ वटा बिरुवा बृक्षारोपण गरिसकिएको छ ।
‘जलवायु परिवर्तन तथा बिग्रिदो वातावरणका कारण नेपालको हिमाली क्षेत्रमा हिंउ पग्लेर हिमालहरु कालापत्थरमा परिणत हुन थालेका छन्’ गौतमले भने, ‘तराइ क्षेत्रमा चुरे पहाडको बिनास तथा दोहनका कारण खानेपानीको अभाव हुंदै जान थालेको छ’ गौतमले भने । बृक्षारोपण गरिएको बिरुवा हुर्काउन मञ्चले स्थानिय समुदाय तथा संरक्षण समितिहरुसंग सहकार्य गर्ने गरेको उनले जनाए ।








प्रतिकृया दिनुहोस्