सरकारी कार्यालय ९ बजे खुल्छन्, सेवाग्राही हुँदैनन्


गुल्मी–आम सर्वसाधारण सेवाग्राही जनतालाइ सहज रुपमा सरकारी सेवा उपलब्ध गराउने उद्येश्यले सरकारले बिहान ९ बजे नै सरकारी कार्यालय खोल्नु पर्ने निर्णय गर्यो । निर्णय बमोजिम सरकारी कार्यालयपनि खुल्ने गर्छन् । तर, कतिपय कार्यालयमा भने सेवाग्राहीको उपस्थिती १० बजे भन्दा अगाडी हुँदैन ।
कर्मचारीहरु सेवाग्राहीलाई घण्टौंसम्म पर्खिनु पर्ने अवस्था छ । अधिकांश सरकारी कार्यालयमा देखा परेको यो अवस्थाले सरकारले गरेको उक्त निर्णयको सान्दर्भिकतामाथि बिश्लेषण गर्नु पर्ने आएको छ । किन बिहान ९ बजे नै सेवागही सरकारी कार्यालयमा पुग्न सक्दैनन त ?
कारण धेरै हुन सक्छन् । जसमध्ये एउटा प्रमुख कारणमध्येको हो, अधिकांश सेवाग्राही त्यस समयमा पुग्नका लागि आफ्नो घर परिवारको दैनिक सवै कार्य सम्पन्न गरेर तालमेल मिलाउन नभ्याउनु । ९ बजे कार्यालयमा पुग्नकालागि घरबाट ८ वा साढे ८ बजेसम्म तयार भएर निस्किनु पर्ने हुन्छ ।
दैनिक नित्य आफ्नो कार्य, घरको सरसफाइ, खाना पकाएर छोराछोरीलाई खुवाएर स्कुल पठाएर सेवा लिन जानका लागि तयार हुँदा ९ भन्दा धेरै समय बितिसक्ने भएकाले ९ बजे नै पुग्न संभव नभएको हो ।
९ बजे बिहान सरकारी कार्यालय खुलिसक्ने तर सेवाग्राही नआएर कर्मचारी कार्यालयमा रितै बसिरहनु पर्ने अवस्था रहेकोमध्येको एउटा हो गुल्मी जिल्ला । त्याहापनि कार्यालय बिहान ९ बजे नै खुलिसकेका हुन्छन् । समयमै कर्मचारी पनि पुग्छन्, तर सेवाग्राही भने हुँदैनन ।
जिल्ला प्रशासन कार्यालयमा केही मात्रामा सेवाग्राही देखिए पनि अन्य कार्यालय भने बिहानको समयमा प्रायः सुनसान देखिन्छन् । साढे ९ बजेको समयमा पनि मालपोत र नापीमात सेवाग्राही शून्य छन् । कर्मचारी बाहिर बसेरै सेवाग्राही कुरेका हुन्छन् । यद्यपि १० बजेअगाडि सेवाग्राही आएको कुनै रेकर्ड नरहेको कर्मचारीले बताए ।
मालपोत र नापीभन्दा अगाडि सदरमुकामस्थित रेसुंगा नगरपालिकाको कार्यालयमा पुग्दा पनि सेवाग्राही भेटिदैनन् । प्रत्यक्ष सेवाग्राही जोडिने यी कार्यालयमा सेवा लिन १० बजेपछि मात्रै सेवाग्राही पुग्छन् ।
जिल्ला प्रशासन कार्यालयमा औसतमा १५-२० जना सेवाग्राही ९–१० बजेको समयमा आउने गरेका छन् । सदरमुकाम तम्घासमा भित्रिने सवारीसाधन १० बजे आसपासमै बढी हुन्छन् । जसका कारणले पनि सेवाग्राही कार्यालयमा पुग्न पाउँदैनन् ।
मालपोत कार्यालयका प्रमुख सूर्यबहादुर सोमैका अनुसार ९ बजेदेखि १० बजेसम्म सेवाग्राही अहिलेसम्म आएकै छैनन् । ‘हामी कर्मचारी आएर हाजिर लगाउनेबाहेक केही काम छैन’ उनको भनाइ छ, ‘खाना खाने समय र यातायातका कारणले सेवाग्राही बिहान आउँदैनन् ।’
खानेपानी, कृषि र वन कार्यालयमा पनि सेवाग्राही बिहानै उपस्थित हुँदैनन । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले नागरिक अभ्यस्त नभएकाले यस्तो समस्या आइरहेको बताए । तर, सेवाग्राही आएनन् भन्ने कर्मचारीले नसोचेर यसलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्नमा सबैको ध्यान जान जरुरी रहेको उनले बताए । सेवाग्राहीका निम्ति एकदमै राम्रो निर्णय भएकाले यसमा अभ्यस्त हुन जरुरी रहेको पनि उनले बताए ।
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सेवाग्राही प्रत्यक्ष रूपमा जोडिने जिल्ला प्रशासन नै भएकाले कार्यालय खुल्ने समयअगाडि नै सेवाग्राही केही मात्रामा आइरहने बताए । अन्यत्र कार्यालयमा नागरिक प्रत्यक्ष कम जोडिने, गाउँबाट आउने यातायातका साधन ढिला आउने, खानाको समय पनि हुने र सेवाग्राही त्यतिधेरै अभ्यस्त भइनसकेका कारण सेवाग्राही कम उपस्थित भएको उनले बताए ।








प्रतिकृया दिनुहोस्