बर्गिकरणपछि सहज बन्दै सिद्धार्थनगरमा फोहोर व्यवस्थापन


भैरहवा– चुनौतीपूर्ण अवस्थामा रहेको सिद्धार्थनगरको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोरको अनिबार्य रुपमा बर्गिकरण गर्नु पर्ने नियमपछि सिद्धार्थनगरमा फोहोर व्यवस्थापन सहज बन्दै जान थालेको छ ।
सिद्धार्थनगर नगरपालिकाले एक महिना अघि प्रत्येक घर, पसल, व्यवसायिक प्रतिष्ठान तथा सरकारी निकायबाट निस्किने फोहोरलाई सम्बन्धित स्थलबाटै कुहिने र नकुहिने फोहोर बर्गिकरण गर्नु पर्ने नियम अनिबार्य गरेको थियो । बर्गिकरण गरिएको फोहोरमात्रै नगरपालिकाले उठाउने र बर्गिकरण नगरिएको फोहोरलाई उत्पादन गर्ने आफै व्यवस्थापन गर्नु पर्ने नगरपालिकाको नियम छ । सार्वजनिक स्थलमा फोहोर फ्याकेमा जरिवाना सहित दण्डित गरिने प्राबधान नगरपालिकाले लागू गरेको छ ।
फोहोरको बर्गिकरण गर्नु पर्ने नियमलाई दुई हप्ता अघिदेखि कडाइका साथ कार्यान्वयन गरेपछि अहिले नगरमा फोहोर व्यवस्थापन सहज र प्रभावकारी बन्दै गएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले बताए । यस अवधिमा नियमको अटेर गरि सार्वजनिक स्थलमा फोहोर फ्याक्ने २० जना व्यक्ति तथा व्यवसायिक फर्मलाई कारवाहीको दायरामा ल्याइएको जानकारी उनले दिए ।
लुम्बिनी प्रवेशद्वार र भारतसंगको महत्वपूर्ण नाकाको रुपमा रहेको सिद्धार्थनगरमा फोहोर व्यवस्थापन प्रभावकारी नहुदा नगर कुरुप र दुर्गन्धित बनेको थियो । नगरको मुख्य चोक र सडक किनारका पेटी र सार्वजनिक स्थलमा जथाभावी फ्याकिने फोहोर नगरवासी तथा यात्रु पीडीत थिए ।
‘अन्तर्राष्ट्रिय जगतसंग प्रत्यक्ष रुपमा जोडिएको मुलुककै महत्वपूर्ण नाका सिद्धार्थनगरमा बिकराल अवस्थामा रहेको फोहोरलाई तत्कालै व्यवस्थापनका लागि फोहोरको श्रोतमैं बर्गिकरण गर्ने नियम अनिबार्य गरिएको हो’ थापाले भने, ‘फोहोरको दीर्घकालिन समाधानकालागि फोहोर प्रशोधन केन्द्र निर्माण प्रकृयालाई अगाडि बढाइएको छ ।’
कुहिने र नकुहिने फोहोरको बर्गिकरण गरेर कुहिने फोहोरको प्रयोगबाट घर घरमैं कम्पोष्ट मल तयार गरि तरकारी, फलफूल खेती गर्न प्रेरित गर्ने र नगरपालिकाले संकलन गर्ने फोहोरबाटपनि कम्पोष्ट मल तयार पर्ने उद्देश्य नगरपालिकाको हो । नगरपालिकाको फोहोर शाखाका अनुसार, यतिवेला सिद्धार्थनगरमा घर घरबाट निस्किने कुहिने फोहोरको संकलनमा ७० प्रतिशतले कमी आएको छ । १३ वटै वडामा कुहिने फोहोर संकलनकालागि दैनिक र नकुहिने फोहोरका लागि कम्तीमा हप्तामा एक पटक संकलन गर्न जाने योजना नगरपालिकाले बनाएको छ ।

नकुहिने फोहोरलाई उपयुक्त कुनै स्थानमा व्यवस्थित रुपले संकलन गर्ने र बिक्री गरेर आम्दानी बढाउने रणनीति नगरपालिकाको छ । करिव १६ हजार घर धुरी रहेको सिद्धार्थनगरमा फोहोर व्यवस्थापनका लागि दैनिक १ सय २५ जना जनशक्ति खटिने गर्छन् । बार्षिक ३ करोड रुपैया भन्दा धेरै फोहोर व्यवस्थापनमा खर्च हुने गर्छ ।
सिद्धार्थनगर क्षेत्रको फोहोर दीर्घकालिन रुपमा व्यवस्थापन गर्न एशियाली विकास बैंकको ३३ करोड रुपैया लागतको सहयोगमा सात–आठ बर्ष अघि निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्र विवादका रद्ध भएपछि नगरमा फोहोर व्यवथापनको समस्या बिकराल बनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत थापाले फोहोरको दीर्घकालिन व्यवस्थापनकालागि अहिले त्यही स्थलमा फोहोर प्रशोधन केन्द्र निर्माणकालागि पहल थालिएको जनाए । ओमसतिया र रोहिणी गाँउ पालिकालाईपनि फाइदा पुग्ने गरि नयाँ ढंगबाट प्रशोधन केन्द्रको निर्माण योजना अगाडि बढाइएको हो ।








प्रतिकृया दिनुहोस्