राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा वर्षौंदेखि अतिक्रमणमा


दाङ– दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा वर्षौदेखि अतिक्रमणमा परेको पाइएको छ । घोराही उपमहानगरपालिका–१४ मा प्रतिष्ठानको दुई बिघाभन्दा बढी जग्गा अतिक्रमित छ ।
अतिक्रमित जग्गा खाली गराउन आवश्यक समन्वय र सहजीकरणका लागि २०८२ चैत १८ गते गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सहरी तथा सभा–समारोह व्यवस्थापन शाखाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचारसमेत गरेको थियो ।
उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीनहरूले भने पुनर्वासको व्यवस्था भए मात्र जग्गा खाली गर्ने अडान राखेका छन् । स्थानीय मानबहादुर बुढाले २०४० सालदेखि उक्त क्षेत्रमा बस्दै आएको उल्लेख गर्दै अहिले हटाउन खोज्दा कहाँ जाने भन्ने चिन्ता थपिएको बताए ।
उक्त क्षेत्रमा हाल १५९ घरपरिवार बसोबास गर्दै आएका छन् । जसमध्ये पुलचोक खोलीगाउँमा ५४ र ट्राफिकचोक खोलीगाउँ टोलमा १०५ घरपरिवार छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार सेवा विस्तार र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने भए पनि बस्तीका कारण समस्या भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रतिष्ठान, स्थानीयवासी र घोराही उपमहानगरपालिकाबीच समन्वय गरी वास्तविक सुकुमवासीको पहिचान गरी समस्या समाधान गरिने बताए ।
प्रतिष्ठानले जग्गा खाली गराउन पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न नसकेको जनाएको छ ।








प्रतिकृया दिनुहोस्