August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

शिक्षा, स्वास्थ्य र सामुदायिक सेवासहित चुजीको लुम्बिनी क्याम्पस उद्घाटन तयारी

Advertisement

लुम्बिनी– शिक्षा, स्वास्थ्य, सञ्चार र सामुदायिक सेवाको माध्यमबाट समुदाय स्तरमा जोडिन खोजेको चुजी फाउण्डेशन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘चुजी लुम्बिनी क्याम्पस’ सञ्चालनको तयारी गरेको छ ।

Advertisement

उक्त संस्थाले लुम्बिनीमा स्थानीय समुदायसँग अन्तरक्रिया सहितको कार्यक्रम आयोजना गर्दै ‘चुजी लुम्बिनी क्याम्पस उद्यान’को आउँदो बैशाख २० गते उद्घाटन गरिने जानकारी गराएको हो ।

क्याम्पस परिसरमा स्थानीय समुदायलाई विभिन्न सेवा प्रदान गर्न अस्पताल, सिप तालिम केन्द्र, सञ्चार र सामुदायिक भवन बनाइएका छन् । भगवान बुद्धको उपदेश दया, करुणा र मानवीय सहयोगमा आधारित रहेर ताइवानी उक्त संस्था हाल नेपालसहित विश्वका १ सय ३९ राष्ट्रमा कार्यरत छ ।

फाउण्डेसनका नेपालका लागि प्रमुख कार्यकारी अधिकृत चक्रज्योति शाक्यले निस्वार्थ सेवा भावमा आधारित रहेर स्थानीय समुदायको आवश्यकताको पहिचान गरि शिक्षा, स्वास्थ्य, मानवीय सेवामा योगदान पुर्याउने उद्देश्य राखिएको जनाए ।

उनका अनुसार, चुजी फाउण्डेशनले नेपालमा एक दशक अगाडिको भूकम्पमा घरवार बिहीन भएका १ हजार ८ सय परिवारलाई घर निर्माण एवं बिदेशी चिकित्सक सहित स्वास्थ्य उपचार प्रदान गरेको थियो । कोरोना कालमा १० वटा बिमान चार्टर गरेर औषधिसहित स्वास्थ्य उपचार सामाग्री नेपालमा उपलब्ध गराएको थियो ।

सन् २०२२ देखि फाउण्डेशनका स्वयंसेवकहरु मार्फत् लुम्बिनी, कपिलबस्तु र काठमाडौं लगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य, विपन्न समुदाय सहयोग, सीप विकास तथा सामुदायिक सेवाका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

चुजी लुम्बिनी क्याम्पस अन्तर्गत हाल लुम्बिनी बुद्धिष्ट चुजी स्कुलले किन्डर गार्टेनदेखि २ कक्षासम्मको पहिलो शैक्षिक सत्र सुरु गरिसकेको र बिद्यालयलाई १२ कक्षासम्म क्रमशः बिस्तार गर्दै लैजाने योजना रहेको फाउण्डेशनका स्वयंसेवक राकेश त्रिपाठीले बताए । ‘दीर्घकालमा प्राविधिक शिक्षालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य पनि राखिएको छ’, उनले भने ।

संस्थाकी उपाध्यक्ष लिनले महिलाहरुको उत्थान र आत्मनिर्भरका कार्यक्रम संचालन गर्न पाउँदा खुशी लागेको जनाइन् । उनले आगामी दिनमा लुम्बिनीसहित नेपालका विभिन्न ठाउँका समुदायसँग आपसी सहकार्य, आत्मनिर्भरता र पारस्पारिक सहयोगको भावनालाई सुदृढ बनाउने बताइन् । उनले करुणा र मानवीय भावका कार्य मार्फत् सधै काम गरिरहने प्रतिबद्धता जनाइन् । पवित्र स्थल लुम्बिनीमा काम गर्न पाउँदा आफू किनै उत्साहित र अनुग्रहित भएको उनको भनाई छ ।

फाउण्डेसनका तर्फबाट नेपालमा स्वास्थ्य क्षेत्र हेरिरहेका डा.निर्देष शाक्यले विशुद्ध मानवी सेवामा संस्था क्रियाशील भएको जनाए । उनले आफू लामो समयदेखि यो संस्था जोडिन पाउँदा गौरवान्वित भएको जनाउँदै स्वास्थ्य क्षेत्रमा धेरै काम भएको सुनाए । लुम्बिनीमा ३ सय बेडको अस्पताल संचालन गर्ने आफूहरुको उद्देश्य रहेको भन्दै सबैको सहकार्य आवश्यक हुने उनले बताए । स्वास्थ्य क्षेत्रमा फाउण्डेसनले गरेका कामबाट आफू निकै प्रभावित भइरहेको उनको भनाई छ ।

सन् १९६६ मा ताइवानकी बौद्ध धर्मावलम्बी महिला चेंग येनले दैनिक ५० पैसा खुत्रुकेमा जम्मा गर्ने अभियान सहित यो संस्थाको स्थापना गरेकी थिइन् । परोपकार, स्वास्थ्य, शिक्षा, मानवतावादी संस्कृतिका क्षेत्रमा क्रियाशिल रहँदै विश्वव्यापी रुपमा विस्तार गरिएको यो संस्था पछिल्लो समय लुम्बिनीलाई केन्द्रमा राखेर नेपालमा सक्रिय रहँदै आएको छ ।