सिद्धार्थनगरमा उठेन एक हप्तादेखि फोहोर, महामारीको जोखिम


भैरहवा– एक हप्ता देखि फोहोर उठ्न नसक्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका दुर्गन्धित बन्दै गएको छ । पछिल्लो दुई वर्ष यता नगरले फोहोर व्यवस्थापन गर्दै आएको डण्डा नदी छेउमा सर्वोच्च अदालतले डम्पिङ नगर्न आदेश गरेपछि पछिल्लो ६ दिन यता नगरको फोहोर उठ्न छाडेको हो । जसले गर्दा नगर दुर्गन्धित बन्दै गएको हो ।
व्यवस्थित डम्पिङ साइट नहुँदा नगरपालिकामा फोहोर व्यवस्थापन विगतदेखि नै चुनौतीपूर्ण बन्दै आएको छ । नगरमा फोहोर व्यवस्थापनका लागि उचित स्थानको अभाव छ । स्थान अभावका कारण पालिकाले नगरभित्रै पर्ने डण्डा खोला छेउमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । पालिकाले सुरुमा वडा नम्बर १ को मेउडिहवामा फोहोर डम्पिङ गर्दै आए पनि त्यहाँ स्थानीयले अवरोध गरे । यसपछि वडा नम्बर १ कै राजमार्गको छेउमा रहेको डण्डा खोलाकै किनार पछिल्लो दुई वर्षयता फोहोर डम्पिङ हुँदै आएको थियो ।
यहीबीच अधिवक्ता विवेक बख्रेल र कानूनकी विद्यर्थी अन्जली सिलवालले डण्डा खोला छेउमा फोहोर फ्याँक्न रोक्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले ४ बैशाखमा डण्डा छेउमा फोहोर फाल्न रोक लगायो । यसपछि नगरपालिकाको फोहोर उठ्न नसकेको हो । पछिल्लो ६ दिनयता नगरका मुख्यदेखि भित्री चोकहरुमा फोहोर थुप्रिएको छ । फोहोर थुप्रिँदै जाँदा दुर्गन्ध समेत बढीरहेको छ भने स्थानीयले तत्काल व्यवस्थापन गर्न माग गरेका छन् ।
‘मेरो फेन्सी पसल अगाडि नै फोहोरको थुप्रो छ, दुर्गन्धले ग्राहक पनि आउँदैनन्’, सिद्धार्थनगर–१२ प्रहरी टोलका स्थानीय व्यवसायी दीपक बनियाँले भने, ‘दुर्गन्धले पसलमा बस्न समेत मुस्किल छ, नगरले जतिसक्दो चाँडो व्यवस्थापन गरे हुने ।’ उनले विगतदेखि नै नगरमा फोहोर व्यवस्थापनको समस्या रहे पनि बेवास्ता गरिएको जनाए ।
फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई छ । तर नगरमा बढ्दो राजनीतिक खिचातानीका कारणले गर्दा उचित व्यवस्थापन हुन सकेको छैन् । सिद्धार्थनगरले यसअघि फोहोर व्यवस्थापन गर्न भन्दै ओमसतियामा ६ विघा जमिन किनेको छ । तर, त्यहाँ राजनीति घुस्दा र स्थानीयको विरोधले व्यवस्थापन हुन सकेन । त्यसबेला एशियाली विकास बैंकले उपलब्ध गराएको ३२ करोड बढी रकम फ्रिज भएको थियो ।
अहिले खोला छेउमा फोहोर डम्पिङ गर्न अदालतले रोक लगाएपछि नगरपालिकालाई व्यवस्थापनमा चुनौति थपिएको छ । तत्कालका लागि पालिकाले प्लास्टिकमा फोहोर बाँधेर सडक किनारमा थुपारी रहेको छ भने स्थानीयलाई घरमै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको छ । व्यवस्थापनका लागि विकल्पहरु पनि खोजिरहेको नगर प्रमुख इश्तियाक अहमद खाँन बताउँछन् ।
‘नगरका फोहोर व्यवस्थापनका लागि जमिन छैन । नगरभित्रै गौतमबुद्ध विमानस्थल भएकाले १० किमी क्षेत्र भित्र फोहोर डम्प गर्न पनि पाइँदैन’, उनले भने, ‘सर्वोच्चको आदेश पछि कहाँ व्यवस्थापन गर्न सकिन्छ भनेर हामीले विकल्पहरुको खोजी गरिरहेका छौं । चाँडै व्यवस्थापन गर्छौं ।’
विमानस्थलको १० किमी आसपास फोहोर डम्प गर्न नपाइने भए पनि सिद्धार्थनगरले ४–५ किमी दूरीमै रहेको डण्डा छेउमा यसअघि फोहोर डम्प गर्दै आएको थियो । सर्वोच्चले नै रोक लगाए पछि ओमसतियामै रहेको पालिकाको जग्गा उपयोग गर्ने तयारी समेत गरिएको छ । नगर प्रमुख खाँनले हाललाई सिद्धार्थनगर–९ मा रहेको पालिकाको जमिनमा डम्पिङ गर्ने तयारी गरिरहेको सुनाए । ‘भोलिसम्म फोहोर उठाउन सकिन्छ भनेर लागि परेका छौं’, उनले भने, ‘तत्काल दुर्गन्ध नफैलियोस् भनेर ठूला प्लास्टिकमा बाँधेर राखेका छौं ।’
नगरमा दैनिक २० देखि २२ टनसम्म फोहोर संकलन हुँदै आएको छ । तर, पछिल्लो हप्ता उक्त फोहोर उठ्न सकेको छैन । नगरले ओमसतिया, रोहिणी, लुम्बिनी सांस्कृतिक लगायतका पालिकासँग सहकार्य गरेर फोहोर व्यवस्थापन गर्न खोजे पनि त्यो सफल हुन सकेको छैन । पछिल्लो हप्ता नगरको फोहोर उठ्न नसक्दा सहरभरी फोहोर थुप्रिएको छ । ठूला होटल तथा अस्पताल र व्यवसायिक प्रतिष्ठानहरुमा पनि फोहोर उसैगरी थुप्रिरहेको छ । स्थानीयको घरघरमा पनि फोहोर जम्मा भइरहेको छ ।
सिद्धार्थनगर–८, लुम्बिनी रोडमा व्यवसाय गर्दै आएको स्थानीय केशबप्रसाद ज्ञवालीले दुर्गन्धले बसिनसक्नु भएको सुनाए । ‘लुम्बिनी गेटकै छेउमा हप्ता दिनदेखि फोहोर थुप्रिएको छ’, उनले भने, ‘रोगको संक्रमण फैलिन्छ की भन्ने डर एकातिर छ भने अर्कातिर पसलमा ग्राहक समेत आउन छाडेका छन् । हामी स्थानीय निकै पीडित भएका छौं । त्तकाल पालिकाले व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’
गर्मी मौसिम भएकाले लामो समय फोहोर नउठ्दा विभिन्न रोगको संक्रमण फैलिएर महामारी आउन सक्ने भन्दै स्थानीयले तत्काल विकल्प खोज्न नगरपालिकालाई आग्रह गरिरहेका छन् । नगरपालिकाले विकल्प खोजिरहेको जनाउँदै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गर्दै आएको छ ।








प्रतिकृया दिनुहोस्