July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शुक्रबार देउखुरीमा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकमा बोलदै उनले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए ।

Advertisement

मुख्यमन्त्री आचार्यले कर्मचारीहरूको क्षमता अभिवृद्धि कागजी प्रक्रियामा मात्र सीमित नभई फिल्ड तहमा प्रत्यक्ष अभ्यासमार्फत गर्नुपर्ने बताए । उनले तालिमलाई नतिजासँग जोड्न, विषयगत आधारमा सञ्चालन गर्न र कार्यक्रमको मोडालिटी समयानुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले आयोजना बैंक र त्यसले निर्धारण गरेका प्राथमिकतामा तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सेवा प्रवाहलाई चुस्त बनाउन कर्मचारीहरूको क्षमता अभिवृद्धि अनिवार्य रहेको बताए । बैठकमा प्रदेशका कार्यक्रम व्यवस्थापक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यले प्रस्तुति राख्नुभएको थियो भने सहजीकरण वरिष्ठ शाखा अधिकृत दुर्गाप्रसाद खत्रीले गरेका थिए ।

बैठकले चालु आर्थिक वर्ष २०८२–८३ को हालसम्मको प्रगतिको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । कार्यक्रम प्रदेश कार्यक्रम सहयोग इकाई र प्रदेश सुशासन केन्द्रमार्फत कार्यान्वयन गरिने जनाइएको छ ।
कार्यक्रमको लक्ष्य कार्यात्मक, दिगो, समावेशी र उत्तरदायी प्रदेश तथा स्थानीय शासन निर्माण गर्नु रहेको छ । अन्तरसरकारी सम्बन्ध सुदृढ गर्दै नागरिकलाई संघीयताका लाभहरू प्रभावकारी रूपमा उपलब्ध गराउने तथा सेवा प्रवाह र विकास व्यवस्थापनलाई सबल बनाउने उद्देश्य राखिएको छ ।