यसरी घरमै पुनःस्थापित भए, गोेरखपुर रेलवे स्टेशनमा अलपत्र भेटिएका दिदीभाइ


भैैरहवा– गोरखपुर रेलवे स्टेशनको प्लेटफर्म नम्बर १ मा भोक र प्यासले अत्तालिएका दुईजना नेपाली बालबालिका अन्य यात्रुहरुसँग खानाको लागि सहयोगको याचना गरिरहेका थिए । भोकले आत्तिएकाले किम्बु खाँदै अरुसँग सहयोग माग्दै गरेको अवस्थामा रेलवे स्टेशनमा पानी बेच्दै गरेका सात–आठ वर्षका एक भारतीय बालकले उनीहरुलाई देखे । पानी बेच्ने गरेका ती बालक रेलवे स्टेशन परिसरमा चिया पसल सञ्चालन गर्दै आएकी ‘पाण्डे टि स्टल’ की सञ्चालक कृष्णा पाण्डे उर्फ मुन्नीको छोरा थिए । उनले फुर्सदको बेला आमालाई सघाउन मिनरल वाटर बेच्ने गर्छन् ।
उनले ती दुईजनाको अवस्था देखेपछि दगुर्दै चिया पसलमा आएर आमालाई बताए । उनको आमाले उनीहरुलाई चिया पसलमैं ल्याउन भनिन् । लगभग आफ्नै उमेर समूहका ती दुवैजना नेपालीलाई चिया पसलमैं साथमा लगे ।
यो घटना दुई हप्ता अगाडि भारतको गोरखपुर रेलवे स्टेशन परिसरको हो । जहाँ घरबाट भागेर प्यूठान नगरपालिका–४, थापाडाँडाका १३ वर्षीया इशा बोहरा र उनका भाइ ७ वर्षीय सुदीप बोहरा त्यहाँ पुगेका थिए । उनीहरु त्यही चिया पसलमा आश्रित रहेकाले अन्य जोखिमबाट जोगिएका थिए । र, उनीहरुलाई पछि उद्धार गरेर घर फर्काउन सहज भएको थियो ।
भारतको गोेरखपुर रेलवे स्टेशनमा अलपत्र अवस्थामा रहेका दुई नेपाली बालबालिकाको उद्धार भइ पारिवारिक मिलन भएको छ । बिहीवार नेपाल ल्याइ आफ्नै घरमा पुर्याएर पारिवारिक मिलन गराइएको छ ।
गोरखपुरस्थित भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिलकुमार गुप्त, गोरखपुरस्थित बीर बहादुर सिंह स्पोटर्स कलेजकी हक्की खेल प्रशिक्षक तथा भारतको हक्की खेलकी महिला राष्ट्रिय खेलाडी प्रेममाया र ती बालबालिका आश्रित रेलवे स्टेशन अगाडि रहेको चिया पसल ‘पाण्डे टि स्टल’ की सञ्चालक कृष्णा पाण्डे उर्फ मुन्नीको सहयोगमा उनीहरुलाई आफ्नै घरमा पुनस्र्थापना गरिएको हो ।
प्रवासी नेपाली महिला रहेकी जसमध्ये प्रेममायाले ती बालवालिकालाई देखेपछि भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिलकुमार गुप्तलाई खबर गरेकी थिइन् । भने, ‘पाण्डे टि स्टल’ की कृष्णा पाण्डेले रेलवे स्टेशनमा भोकै अलपत्रमा परेका बोहरा दिदीभाइलाई आफ्नो पसलमा ल्याएर संरक्षण दिँदै जोखिममा पर्नबाट जोगाएकी थिइन् ।
मैत्री समाजका अध्यक्ष गुप्तको जानकारी र सहयोगको माध्यमबाट नेपालमा समाचार प्रकाशित भएपछि दुई हप्ता अघिदेखि हराइरहेका दिदीभाइको खोजीमा रहेका आफन्त समेतले जानकारी पाएका थिए ।
‘उनीहरुको तस्वीर सहितको समाचार देख्नासाथ हामी खुशी हुँदै उनीहरुलाई घरमा फर्काउन तत्कालै पहल थाल्यौं’, कपिलबस्तुको शिवराज–१, शिवपुर बस्ने बोहरा दिदी भाइका काका तुकमान बोहराले भने, ‘मैत्री समाजका अध्यक्ष गुप्त, चिया सञ्चालक महिला र अन्यको सहयोगबाट भतिजी र भतिज जोखिममा पर्नबाट जोगिएका रहेछन् र घर फर्काउन सक्यौं ।’
दिदीभाइलाई लिन तुकमान एकजना छिमेकीको साथमा आफै बुधवार दिउँसो गोरखपुर गएका थिए । इशा र सुदिपलाई बिहीवार दिउँसो प्यूठान घरमैं लगेर पुनस्र्थापित गरिएको उनले बताए । उनका अनुसार, इशा र सुदिपको वुवाको देहान्त र आमाको अर्को विवाह भएपछि उनीहरु हजुर वुवा र हजुरआमाको आश्रयमा बस्दै स्थानीय बिद्यालयमा अध्ययनरत थिए ।
हजुरबुवा र हजुरआमाको मायामैं रहेका दिदीभाइ घरबाट भाग्नुको पछाडी सुदिपको चकचकेपन र उदण्डता भएको र भाइलाई एक्लै नछाड्ने मनस्थितिका कारण इशा पनि पछि लागेको तुकमानले बताए । इशा स्थानीय खलंगा माविमा कक्षा ८ मा अध्ययन गर्छिन् भने सुदिप उक्त विद्यालयमा कक्षा ४ मा पढेपछि फेरि स्थानीय इभरग्रिन बोर्डिङ स्कुलमा १ कक्षामा अध्ययनरत थिए । सुदिप बढि चंचल स्वभावका छन् ।
कृष्णनगर नाका हुँदै गोरखपुर पुगेका इशा र सुदिप भोक र प्यासले अत्तालिएर गोखपुरको रेलवे स्टेशनमा अन्य यात्रुसँग खाना माग्दै गरेको अवस्थामा पानीको बोतल बेच्दै गरेका चिया पसल सञ्चालक कृष्णाको छोराले देखेपछि आमालाई भनेर चिया पसलमा ल्याएका थिए ।
उनीहरु जोखिममा पर्ने सम्भावना देखेपछि कृष्णाले नजिकको पुलिस स्टेशनमा जानकारी दिँदै अर्को व्ज्यवस्था नहुञ्जेल आफ्नो संरक्षणमा राखेकी थिइन् । उस्तै उमेरका उमेरका सुदिप र कृष्णाको छोरा साथी बनेर रेल वे स्टेशनमा पानीको बोतल बेच्ने गरेका थिए । इशालाई कृष्णाले चिया पसलमा जस्ता पनि मान्छे आउने भन्दै २५ किमी टाढा पीपीगञ्जस्थित आफन्तको घरमा पुर्याएर सुरक्षित राखेकी थिइन् ।
उनीहरुलाई लिन नेपालबाट गएपछि उनले इशालाई पीपीगञ्जबाट झिकाएकी थिइन् । इशा र सुदिप गत चैत २१ गते राती खाना खाएर घरबाट भागेका थिए । ‘उनीहरु लुकेर भाग्दै भारत पुगेछन् । हामी यता जताततै खोज्दै थाकेका थियौं’, तुकमानले भने, ‘यदि उनीहरु गोरखपुरको चिया पसलमा आश्रित नरहेर त्यहाँबाट अगाडि गएको भए फेला पर्ने सम्भावना अति कम थियो ।’
इशा र सुदिपको वारेमा समाचार प्रकाशित भएपछि उनीहरुको अवस्थाका वारेमा प्युठान नगरपालिका, प्युठान जिल्ला प्रहरी कार्यालय र प्रधानमन्त्री कार्यालयबाट समेत सोधखोज भएको थियो ।








प्रतिकृया दिनुहोस्