लुम्बिनी प्रदेशमा ३ सय ६८ खानेपानीका योजना अलपत्र


भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाैदेखि खानेपानीका ३ सय ६८ आयोजना अलपत्र छन् । यसरी अलपत्र योजना मध्ये कतिपय दुई दशकअघि सुरु भएका पनि छन् । त्यस्ता योजनामा पर्याप्त बजेट विनियोजन नहुँदा पूर्णता पाउन नसकेको हो ।
संघीय सरकारबाट २०७४ पछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएका यी आयोजना पूर्णता दिन संघ सरकारको चासो देखिएको छैन । प्रदेश सरकारकै प्राथमिकतामासमेत नपर्दा आगामी दिनमा अलपत्र बन्ने हुन् कि भन्ने चिन्ता बढेको उपभोक्ताहरुको गुनासो छ ।
पछिल्लो समय माथिल्लो भेगमा रहेका मूल सुक्दै जाँदा पहाडी भेगमासमेत खानेपानीको समस्या गम्भीर बन्दै गएको छ । अधिकांश ग्राभिटीमा संचालित आयोजनालाई अहिले लिफ्टमा बदल्नुपर्ने अवस्था आएको पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका वडाध्यक्ष सोमबहादुर कार्की बताउँछन् ।
१५–२० वर्षअघि लागत इष्टिमेट गरेका योजनाका बनेका संरचना पनि बिग्रिन थालिसकेको उनले बताए । उनका अनुसार आयोजना सम्पन्न गर्न अघिल्लो वर्ष अर्थमन्त्री, प्रदेशका सभामुख, जिल्लाका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएको थियो । तर ध्यानाकर्षण गराएकै वर्ष एक रुपैयाँ पनि बजेट विनियोजन नभएको उनले बताए ।
लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख गुणनिधि पोखरेलका अनुसार यी सबै योजनालाई पूर्णता दिन करिब १० अर्ब ९२ करोड ४६ लाख रुपैयाँ आवश्यक पर्छ । चालु आर्थिक वर्षमा यी आयोजनाका लागि एक रुपैयाँ पनि बजेट विनियोजन भएको छैन । संघीय सशर्त अनुदानबाट आउनुपर्नेमा नआएको हो । हरेक वर्ष न्यून बजेट विनियोजन हुँदा यी योजना कहिले पूरा हुन्छन् भन्न गाह्रो हुने उनले बताए ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानमा २०६४–६५ मै अनिलधार लिफ्ट खानेपानी योजना सुरु भयो । झण्डै एक हजार घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो योजना १९ वर्षसम्म पूरा भएको छैन ।
योजनाको अझै २६ प्रतिशत काम बाँकी छ । भैरवस्थानका विभिन्न स्थानमा चार चरणमा काम भएको हो । उक्त योजनामा शाखा लाइन बिस्तार र सर्भिस ट्याङ्की निर्माणको काम पूरा भएको छैन । विद्युतीकरण र वितरण लाइनको काम पनि बाँकी रहेको उपभोक्ता समिति अध्यक्ष तुलबहादुर अधिकारीले जनाए ।
उनका अनुसार दुई वर्षअघि विद्युत्को ट्रान्सफर्मर, पोललगायत सामान ल्याएर राखिएको छ । पानी तान्ने ट्यांकीसम्म विद्युत् लाइन विस्तार गर्न सकिएको छैन । यसबाहेक पनि काम धेरै नै भएको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार बजेट अभावकै कारण वर्षौंअघि सुरु आयोजना पूर्णतया सञ्चालनमा आउन नसकेको हो । योजना सम्पन्न गर्न १ करोड ३० लाख बजेट आवश्यक पर्छ ।
खानेपानी डिभिजन कार्यालय पाल्पाका इन्जिनियर सन्जीव अधिकारीका अनुसार अनुसार योजनालाई पूर्णता दिन चालु आर्थिक वर्षमा बजेट नै छैन । ‘बजेट थोरै आउने भएकाले पनि पछिल्ला वर्षमा योजनामा खासै प्रगति भएको छैन,’ उनले भने । चालु आर्थिक वर्षमा बजेट नहुँदा संघीय सशर्त अन्तरगतका जिल्लाका कुनै पनि योजनामा काम नभएको उनले बताए ।








प्रतिकृया दिनुहोस्