बुटवल बसपार्कका टिकट काउन्टर अब नयाँ भवनमा


भैरहवा– बुटवलको बसपार्क र बजारका विभिन्न स्थानमा राखिएका सवारी साधनका टिकट काउन्टरहरुलाई बसपार्कको नयाँ भवनमा सारिने भएको छ । बसपार्कभित्रै विभिन्न स्थानमा ट्यांकीमा र बजारका विभिन्न स्थानमा सटर र ट्यांकी भाडामा लिएर टिकट काउन्टर राखिएको छ ।
सुविधासम्पन्न बसपार्क भएर पनि बजारका विभिन्न स्थानमा टिकट काउन्टर राख्दा यात्रुहरु ठगिने र असुविधा हुने गरेका गुनासो आउने गरेको थियो । सोही गुनासोलाई समाधान गर्न बसपार्क भित्र निर्माण गरिएको भवनमा टिकट काउन्टरहरु लैजाने तयारी गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।
‘बसपार्क भित्र र बजारका विभिन्न स्थानमा रहेका सबै काउन्टरहरुलाई सोही भवनमा संचालन गर्न यातायात व्यवसायीहरुसँग सहमति भइसकेको छ’, उनले भने, ‘अब, बसपार्क निकै व्यवस्थित हुनेछ ।’
व्यवसायीहरुसँगको सहमतीमा बुटवलमा संचालनमा रहेका टिकट काउन्टरलाई नम्बरिङ गरि सोही नम्बरको आधारणमा नयाँ भवनमा काउन्टर उपलब्ध गराउने नगर प्रमुख पाण्डेले जनाए । उनले टिकट काउन्टरहरुलाई व्यवस्थित बनाउने आफूहरुको योजनालाई सहयोग गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरे ।
बसपार्कमा टिकट काउन्टरकै लागि केही बर्ष पहिले भवन निर्माण गरिएको भए पनि प्रयोगमा आउन सकेको थिएन । लुम्बिनी प्रदेश स्थापना पछि केही समय सामाजिक विकास मन्त्रालय यही भवनमा रहेको थियो भने केही समय राजश्व अनुसन्धान कार्यालय पनि थियो ।
राजस्व अनुसन्धान कार्यालय समेत यहाँबाट अन्यत्र सारिएपछि भवन खाली थियो । सोही भवनलाई रंगरोगन गरेर उपमहानगरपालिकाले टिकट काउन्टर संचालन गर्ने तयारी गरेको हो ।








प्रतिकृया दिनुहोस्