July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

प्यूठानका नाबालक दिदीभाइ भारतको गोरखपुर रेलवे स्टेशनमा अलपत्र

Advertisement

भैरहवा– घरबाट भागेका दुईजना नेपाली बालबालिका भारतको गोरखपुरस्थित रेलवे स्टेशन परिसरमा दुई सातादेखि अलपत्र अवस्थामा छन् । उनीहरु एकै घरका दिदीभाइ हुन् । हाल उनीहरु रेलवे स्टेशन अगाडिको एउटा चिया पसलमा आश्रित छन् ।

Advertisement

गोरखपुरस्थित भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिलकुमार गुप्ताले ती बालवालिका अलपत्र अवस्थामा रहेको जानकारी पाएपछि आफू त्यस ठाउँमा गइ उनीहरुको बारेमा जानकारी लिएको बताए । गुप्तका अनुसार उनीहरुले आफ्नो घर नेपालको प्यूठान नगरपालिकास्थित थापाडाँडा बताएका छन् । यसबारे गोरखपुरको रेलवे स्टसनस्थित प्रहरीलाई जानकारी दिइएको उनले जनाए ।

उनीहरु एउटै घरका दिदीभाइ हुन् । दिदी इशा बोहरा करिव १३ बर्षकी छन् । भाइ सुदीप बोहरा करिव ७ बर्षका छन् । उनीहरु घरबाट भागेर गन्तब्य बिनाको यात्राको क्रममा गोखपुर पुगेका हुन् । बुवाको देहान्त भएपछि आमाले अर्को बिवाह गरेपछि घर छाडेर हिंडेको भनाइ उनीहरुको छ ।

ती बालवालिकाले घर छाडेर हिंड्नुको यथार्थ जानकारी भने प्राप्त हुन सकेको छैन । पारिवारिक माया नपाएपछि घर छाडेर हिंडेको आशय उनीहरुको भनाइबाट पाइएको गुप्ताले जनाए ।

‘उनीहरुको वारेमा यथार्थ बिवरण भारतीय प्रशासनिक निकायलाई नभएकाले मैले यस वारेमा सवै जानकारी गोरखपुरस्थित भारतीय पुलिसलाई दिँदै छु’, गुप्ताले भने, ‘उनीहरु तत्काल चिया पसलवालाको आश्रयमा रहे पनि विभिन्न खालको जोखिमबाट सुरक्षित अवस्थामा छैनन् ।’

गुप्ताका अनुसार दुई साता अघि रेलवे स्टेशन अगाडि सडकमा भौंतारिइ रहेको अवस्थामा फेला परेकाले आफूहरुले राखेको चिया पसल सञ्चालकले बताएका छन् । आफ्नो छोरीको उमेरसँग मिल्दोजुल्दो उमेरकी नेपाली बालिका रहेको र ती बालिका अनेक जोखिममा पर्ने सम्भावना रहेकाले उनीहरुलाई आश्रय दिएको भनाइ चिया पसल सञ्चालक महिलाको छ ।

आफू उक्त पसलमा जाँंदा सुदिपमात्र रहेको र इशाको वारेमा सोधखोज गर्दा चिया पसलकी महिलाले गोरखपुर नजिकैको पीपीगञ्जस्थित आफ्नो नातेदारको घरमा पठाएको जवाफ दिएको गुप्ताले सुनाए । ‘एक घन्टासम्म मैलै सुदिपलाई फर्केर घर जाने भनेर सम्झाउँदा कुनै हालतमा पनि घर नजाने जवाफ दिए’, गुप्ताले भने, ‘मैले चिया पसलकी महिलालाई अर्को व्यवस्था नभएसम्म उनीहरुलाई अन्यत्र जान नदिएर आफ्नो जिम्मामा राख्न भनेको छु ।’

गुप्ताका अनुसार, गोरखुर रेलवे स्टेशनको १ नम्बर गेट अगाडि सिंचाइ विभागको कार्यालयसँगै रहेको चिया पसलमा उनीहरु छन् । उनीहरुलाई किन राखेको ? भनेर चिया पसलवालालाई सोध्दा अलपत्र अवस्थामा रहेका उनीहरु कुनै जोखिममा नपरुन् भनेर संरक्षण दिएको चिया पसलवालाले बताएका छन् ।

आफुहरुलाई नै ठाउँ सांघुरो भएको र यदि बालवालिकालाई लैजाने हो भने कुनै आपत्ति नहुने कुरा आफूसँग पसलवालाले भनेको गुप्ताले जनाए । ती बालिबालिका दुई हप्ता अघि कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारततर्फ गएको सीसीटीभी फुटेजमा भेटिएको थियो ।