July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः घटनाबारे मेडिकल काउन्सिलले छानबिन गर्दै

Advertisement

भैरहवा– नेपाल मेडिकल काउन्सिलले बुटवलमा गर्भपतनका क्रममा मृत्यु भएकी गीता पाण्डेको घटनामा छानबिन गर्ने भएको छ। १२ हप्ताको गर्भमा रहेको भ्रुण असामान्य रहेको भन्दै स्वास्थ्यकर्मीहरूले गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको थियो।

Advertisement

गीताको मृत्यु भएपछि उनका आफन्तले बुटवलको खत्री नर्सिङ होम, जोनल क्लिनिक र इन्दुलेखा क्लिनिकको लापरबाहीका कारण मृत्यु भएको भन्दै घटनामा संलग्नहरूलाई कारबाहीको माग गरेका छन्।

मृतकका आफन्तले नेपाल मेडिकल काउन्सिलमा समेत उक्त घटनाको छानबिनका लागि निवेदन दिएका छन्। पीडित परिवारको निवेदनपछि काउन्सिलले समेत उक्त घटनालाई गम्भीर रूपमा लिँदै समिति गठन गरेर छानबिन गर्ने जनाएको हो।

काउन्सिलका रजिस्टार डा. सतिश देउले गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भएको विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको र काउन्सिलले छानबिन गर्ने तयारी गरेको बताए।

ुउक्त घटनालाई काउन्सिलले गम्भीर रूपमा लिएको छ, पीडित पक्षबाट पनि काउन्सिलले निष्पक्ष रूपमा छानबिन गरिदेओस् भनेर निवेदन दिनुभएको छ। अरू सदस्यहरूसँग छलफल गरेपछि समिति गठन गरेर छानबिनलाई अगाडि बढाउँछौं,’ डा. देउले भने।

पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ घर भई हाल तिलोत्तमाको शंकरनगरमा बस्दै आएकी २९ वर्षीय गीताको गर्भपतन गराउने क्रममा सोमबार मृत्यु भएको थियो।