मध्य तराईमा तातो हावाले जनजीवन प्रभावित


भैरहवा– अहिले गर्मीको मौसम भए पनि वातावरण स्वभाविक छैन । विहानै घाम चर्किने र दिउँसो तातो हावा चल्ने गरेको छ । जसले गर्दा रुपन्देही लगायत मध्य तराईको जनजीवन प्रभावित भइरहेको छ । बिहानैदेखि घाम चर्किन थालेपछि सर्वजनिक स्थलमा सर्वसाधरणको उपस्थिति पातलिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर निस्किने घटेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार मंगलबार बिहान पौने ९ बजे भैरहवाको तापक्रम २१ दशमलव १ डिग्री रहेको थियो । भने दिउँसो पौने ३ बजे तापक्रम बढेर ४२ डिग्री सेल्सियस पुगेको थियो । सोमबारबाट भैरहवा र आसपास मध्यान्हपछि तातो हावा चलिरहेको छ । जसले गर्दा कामकाजी र बटुवालाई समस्या भएको छ ।
बुधबार पनि विहानैबाट घाम चर्किएको छ । मौसम विभागले पनि रुपन्देही लगायत जिल्लामा लु चल्ने चेतावनी दिँदैं सर्वसाधरणलाई सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार तराईका जिल्लामा एक सातासम्म लु चल्ने सम्भावना छ । एकातिर गर्मीको मार छ । अर्कोतिर प्रदूषित हावाले आँखा पोल्ने, नाका चिलाउने लगायत समस्या देखिएका छन् ।
भैंरहवामा अटो चलाएर जिविका चलाउँदैं आएका सन्त चौधरीले तातो हावा चल्दा शरीर सुक्खा हुने र प्यास लाग्ने समस्या देखिएको बताए । ‘दिउँसो यात्रा गर्न सकिन्न,’ उनले भने, ‘गर्मीले ज्यान आलस्य हुने, ओठ सुक्ने र निन्द्रा लाग्ने समस्या देखिएको छ ।’ गर्मी बढेपछि दिउँसोका लागि तय काममा सहभागिता जनाउन नसकेको उनले बताए । उनका अनुसार रुपन्देहीका भैरहवा, तिलोत्तमा, लुम्बिनी, रोहिणी लगायत क्षेत्रमा गर्मीले सर्वसाधरणलाई आलसतालस बनाएको छ ।
नयाँ वर्षदेखि तराईका जिल्लामा वर्षा भएको छैन । जसले गर्दा हावा तातो हुँदा यात्रामा कठिनाई भइरहेको छ । गर्मीले जिल्लास्थित उद्योगमा कार्यरत मजदूर प्रभावित भएका छन् । रुपन्देहीका अधिकांश पालिकाले बैशाख १० गतेबाट शैक्षिक सत्र सुरु गर्दैछन् । गर्मीमा विद्यालय सञ्चालन हुने भएपछि अभिभावक चिन्तित बनेका छन् । ‘बिहानै गर्मी सुरु हुन्छ,’ सिद्धार्थनगर–१२, का जयकेश हरिजनले भने, ‘दिउँसो घर बाहिर निस्किएर काम गर्न धौं हुन्छ । घामले पोल्छ ।’ चिकित्सकहरुले पानी प्रशस्त पिउन र अत्यावश्यक काम बाहेक दिउँसो बाहिर ननिस्किन आग्रह गरेका छन् ।








प्रतिकृया दिनुहोस्