August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

युद्ध र इन्धन मूल्यबृद्धिको मार पर्यटनमा

Advertisement

भैरहवा – मध्य पूर्व एसियामा भइरहेको इरान–इजरायल–अमेरिका युद्धका कारण हवाई उडान कटौतीकासँगैं इन्धनमा मूल्यबृद्धि भएको छ । यसको असर नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा परेको छ । उडान कटौंती र इन्धन मूल्यबृद्धिको मारमा लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, बर्दिया लगायत पर्यटकीय गन्तव्य पनि परेका छन् ।

Advertisement

बर्दियाको ठाकुरद्वारा पर्यटक बिहीन जस्तै छ । युद्धका कारण इन्धन अभाव भएर मूल्य बृद्धि भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको होटल संघ नेपाल बर्दिया च्याप्टरका अध्यक्ष मोहनलाल चौधरीले बताए । ‘इन्धन मूल्य बृद्धिका कारण आन्तरिक पर्यटनको संख्या घटेको छ,’ उनले भने, ‘विदेशी पर्यटक छिटफुट आइरहेका छन् ।’

इन्धनमा मूल्य बृद्धिका कारण भाडा पनि बढेकाले पर्यटनको संख्यामा कमी आएको उनले बताए । ‘यहाँ आएका विदेशीले पनि कम खर्च गरिहेको उनले बताए । ‘बढी खर्च गर्ने गुणस्तरीय पाहुनाको कमी छ,’ उनले भने, ‘इन्धन(डिजेल)को मूल्य नबढेका बेला स्वदेशी पर्यटनलाई एक दिनको जिप सफारीको लागि १२ हजार ५ सय मात्र पथ्र्यो । तर,डिजेलको भाउ बढ्दा पछिल्लो समय स्वदेशी पर्यटनलाई एक दिनको जिप सफारीको लागि १८ हजार ५ सय लाग्ने गरेको छ ।’

उनका अनुसार विदेशीलाई झन महंगो पर्छ । इन्धनको मुल्य वृद्धिकै कारण पहिला भन्दा पर्यटन घटेको प्रकृति पद प्रदर्शक संघ बर्दिया अध्यक्ष कृष्णबहादुर शाहले बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटक घटेका छन् । अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा बुद्ध जन्मस्थलमा विदेशी पर्यटकको चहलपहल ह्वात्तै घटेको हो ।

लुम्बिनी आउने ६० प्रतिशत विदेशीले होटल ‘बुकिङ’ रद्द गरेको लुम्बिनी होटल संघ अध्यक्ष लिलामणि शर्माले बताए । मध्यपूर्वका मुलुक भएर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक घटेका हुन् । ‘हवाई असुरक्षा र उडान रद्ध भएकाले आउन सकेका छैनन्,’ उनले भने, ‘यस्तो अवस्था लम्बिदै गएमा कोभिड–१९ महामारीमाजस्तै पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुन्छ ।’

अहिले लुम्बिनी सुनसान बनेको छ । वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गतका प्राचीन कपिलवस्तु, निग्लिहवा, गोटिहवा, देवदह र रामग्रामपनि सुनसान छन् । लुम्बिनीमा साना ठूला ८२ होटल र रेष्टुरेन्ट छन् । कतार र युएइलाई मुख्य ट्रान्जिट बनाएर नेपाल आउने पर्यटक घटेको लुम्बिनी विकास कोष वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बताए । लुम्बिनीमा वर्षेनि विश्वका करिब एक सय मुलुकका पर्यटक, तीर्थयात्री आउने गर्छन् । विदेशी मुलुकमा भइरहेको द्वन्द्व र अशान्तिको असर नेपालको पर्यटन क्षेत्रमा परेकाले नयाँ ढंगले प्रवद्र्धनको योजना बनाउनुपर्ने उनले बताए ।