चल्न थाल्यो लू, सावधानी अपनाउन जरुरी


भैरहवा– तापक्रम बृद्धि हुन थालेसंगै भैरहवा र आसपास तराइका क्षेत्रमा तातो हावा (लु) चल्न थालेको छ । दिउँसोमा चल्न थालेको तातो हावाले भैरहवा क्षेत्रको सामान्य दैनिक जनजिवनलाई प्रभावित बनाएको छ ।
नयाँ बर्ष आरम्भ भएसंगै भैरहवा क्षेत्रमा बढ्दो गर्मीको महशुस हुँदै गएपनि तातो हावा भने गत सोमवारदेखि चल्न सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भैरहवा क्षेत्रमा तातो हावाको प्रभाव अझ केही दिन कायम रहने अनुमान गर्दै सजगता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार, देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । भैरहवामा आज दिउसो ४० देखि ४२ डिग्री र रातमा २३ देखि २५ डिग्री सेल्सियस बिच तापक्रम रहने अनुमान छ । तराइमा अत्याधिक गर्मी बुधवारसम्म रहने पूर्वानुमान छ । गर्मीसंगै तातो हावाको प्रभाव पनि देखिने संभावना छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा दिन तातो भएको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराई क्षेत्रमा ‘लू’ चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले विशेषगरी तराईका जिल्लामा बुधबारसम्म अत्यधिक गर्मीको अवस्था कायम रहने जानकारी दिए । ‘विशेषगरी लुम्बिनी प्रदेशको पश्चिम क्षेत्र, धनगढीलगायत सुदूरपश्चिमका अन्य तराई जिल्ला, नेपालगञ्ज, धनगढीलगायत स्थानमा लूको सम्भावना बढी छ’ उनले भने ।
लू लाग्दा हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने, टाउको अत्यधिक दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने तथा अचेत हुने जस्ता समस्या स्वास्थ्यमा देखिन सक्ने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार, लूले दीर्घकालीन असरसमेत पुर्याउन सक्छ । मस्तिष्क तथा रक्तप्रणालीमा समस्या गर्न सक्छ । बालबालिका र वृद्ध उमेरका समूहलाई सबैभन्दा बढी असर गर्न सक्छ । पर्याप्त पानी पिउने, शीतल छहारीमा बस्ने, मदिरा तथा धुम्रपान गर्नुहुँदैन ।
विश्व स्वास्थ्य संगठनले नेपालमा गरेको तातो हावाको लहर वारे अध्ययनले जलवायु परिवर्तनका कारण गर्मीजन्य समस्या बढेको निष्कर्ष निकालेको छ । लूबाट जोगिन दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस पिउन, अत्यधिक पसिना आएमा ‘जीवनजल’ सेवन गर्न सुझाव दिईएको छ । बाहिर निस्कनै परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने तथा खेतबारीमा बिहान वा बेलुका मात्र काम गर्न सल्लाह दिइएको छ ।








प्रतिकृया दिनुहोस्