भारतीय गाडीको ओभरलोड रोक्न रूपन्देहीका ढुवानी व्यवसायीको माग


भैरहवा– नेपाल र भारतमा पेट्रोलियम पदार्थको फरक मूल्य कायम हुँदा ढुवानी व्यवसायी मर्कामा परेका छन् । नेपालमा भन्दा भारतमा डिजेल लगायत पेट्रोलियम पदार्थ सस्तो मूल्यमा विक्री भइरहेको छ । यहाँ डिजेलको मूल्य उच्च रहेका बेला भारतीय मालबाहक गाडीले सस्तो इन्धन प्रयोग गरेर नेपालमा सामान ढुवानी गरिरहेका छन् । जसले मुलुक भित्रका ढुवानी व्यवसायी मर्कामा परेका हुन् ।
रुपन्देहीका ढुवानी व्यवसायीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदैं समस्याबारे ध्यानाकर्षण गराएका छन् । ट्रक व्यवसायी पंकज राईको नेतृत्वमा प्रशासन पुगेका उनीहरुले भारतमा उपलब्ध सस्तो इन्धन प्रयोग गरेर नेपालका कुनाकाप्चासम्म भारतीय मालबाहक गाडीले ढुवानी गरिरहेको गुनासो पोखेका छन् । यसले नेपाली सवारी साधनलाई प्रतिस्पर्धात्मक रुपमा कमजोर बनाएकाले व्यवसाय सञ्चालन गर्न कठिनाई भएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
‘भारती मालबाहकले मापदण्ड विपरित ओभरलोड बोक्ने गरेका छन्,’ व्यवसायी राईले भने, ‘यस प्रकारको गतिविधिले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथैं सडक पूर्वाधारमा समेत असर गरिरहेको छ ।’
रुपन्देहीको बेलहियास्थित भन्सार नाकामा नेपाली तथा भारतीय मालबाहक गाडीको आवागमन तथ्यांक केलाएर आवश्यक कारबाही अगाडि बढाउन व्यवसायीले माग गरेका छन् । प्रतिकुल वातावरणका कारण ट्रक व्यवसायीहरु व्यवसाय सञ्चालन असमर्थ रहेको उनीहरुले उल्लेख गरेका छन् । ‘यस्तै अवस्था रहिरहे भविष्यमा व्यवसायबाट विस्थापित हुनुपर्ने छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ नेपालमा डिजेलको मूल्य समायोजन गरियोस् ।’
उनीहरुले ज्ञापनपत्रमा भारतीय गाडीको अनियन्त्रित मुलुक प्रवेशमा कडाई गर्न माग गरेका छन् । ओभरलोड सम्बन्धि विद्यमान कानुनी व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न माग गरेका छन् । साथैं स्वदेशी ढुवानी व्यवसायीको संरक्षण र प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गर्न माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले व्यवसायीको मागलाई सम्बोधन गर्ने आश्वासन दिए ।








प्रतिकृया दिनुहोस्