बुटवलका फुटपाथ खाली गराउने अभियानमा नगर प्रहरीको भूमिका ‘आलोचित’


भैरहवा– बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरभित्र फुटपाथ अतिक्रमण गरेर भइरहेको व्यवसायमा ‘ब्रेक’ लगाएर सुन्दर नगर बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । ‘बस्न लायक बुटवल’ उनले तय गरेको नारा नै हो । उपमहानरको फुटपाथ खाली गराउने अभियानको समर्थन भइरहेको छ । तर, फुटपाथ खाली गराउने क्रममा नगर प्रहरीले देखाएको उग्र रुप र व्यवहारको भने मुलुकभरि आलोचना भइरहेको छ ।
धेरैले नगर प्रमुख पाण्डेयले शुद्ध मनसायले अभियान सञ्चालन गरेको बताउँछन् । अभियान सञ्चालन गर्दा नागरिक अधिकारको ख्याल गरिनुपर्नेमा नगर प्रहरीबाट दुव्र्यवहारका घटना सार्वजनिक भएपछि आलोचना बढेको उनीहरु बताउँछन् । नगर प्रहरीले प्रदर्शन गरेको उग्र कारबाहीको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका छन् । ती भिडियो हेर्नेले बुटवल उपमहानगरको आलोचना गरिरहेका छन् । ‘नगर प्रमुख आफै शालीन व्यक्ति हुनुहुन्छ,’ बुटवलका एक बासिन्दाले भने, ‘तर, उहाँले सञ्चालन गरेको अतिक्रमण हटाउने अभियानका क्रममा धेरै आक्रोश देखियो ।’
गत बुधबार बुटवलको अस्पताल लाइन र भुड्की चोकमा वर्षौदेखि भइरहेको फुटपाथ अतिक्रमण हटाउँदा अभियानले राम्रै चर्चा पाएको थियो । त्यसपछि धेरै व्यवसायी सचेत पनि बने । बिहीबार अमरपथ, बीपी चोक, राम मन्दिर लाइनमा अनुगमन गरियो । शुक्रबार बसपार्कदेखि मिलनचोक हुँदै चौराहासम्म अनुगमन भएको थियो । अनुगमनका क्रममा अतिक्रमित संरचना भत्काउने, सामान जफत गर्नेमा समर्थन बटुलेको उपमहानगरको बिहीवारको अनुगमनका क्रममा राम मन्दिर लाइनमा एक व्यवसायीको पसलमा भएको धक्कामुक्का र जफत गरिएका सामानको विषयमा सकारात्मक र नकारात्मक दुवै चर्चा र प्रतिक्रिया जारी छन् ।
दुई दिन आक्रामक बनेको नगरपालिका शुक्रबार भने सचेत बनाउने अभियानसहित प्रस्तुत भएको थियो । त्यसपछि शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारबाट उक्त अभियान पुनः सुरु हुने नगरपालिकाले जनाएको छ । बिहीबार हस्पिटल लाइनबाट सुरु भएको अभियान अमरपथ, बीपी चोक, राम मन्दिर लाइन हुँदै जेसिस चोकसमम पुगेको थियो । अनुगमनमा नगर उपप्रमुख सावित्रादेवी अर्यालसहित नगर प्रहरी, नेपाल प्रहरीसहितको टोली थियो । अभियान राम मन्दिर लाइनमा पुग्दा अलि अस्वाभाविक बन्यो । बाहिर सामान राखेका वा झुण्ड्याएका व्यवसायीलाई सचेत बनाउँदै एक–दुई सामान उठाउँदै हिंडेको नगर प्रहरीले राम मन्दिर लाइनको सीटी व्याग हाउसबाट पनि अन्य पसलमा जस्तै एक झोला निकालेर अघि बढ्दै थिए ।
त्यतिबेला ब्याग हाउसका संचालक विजय रायमाझीले आफ्नो पसलमा घाम छेक्न लगाइएको ‘सनसेट’ (घाम छेक्ने पर्दा) भित्र तान्दै थिए । त्यति नै बेला आफ्नो पसलबाट पनि एउटा पहेँलो कलरको झोला निकालेर अघि बढेका नगर प्रहरीलाई रायमाझीले पछाडिबाट झम्टिए । त्यसपछि नगर प्रहरी आक्रामक बन्यो । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा झण्डै आधा दर्जन नगर प्रहरी पसलभित्रै पसेर उनलाई धक्कामुक्का गरेको देखिन्छ । त्यस क्रममा उनको दायाँ हातको एक औंला फ्याक्चर भएको छ । जसमा उनले अहिले अस्थायी प्लास्टर गरेका छन् । उनले आफूले पछाडिबाट धक्का दिएको स्वीकार गरेका छन् । तर, त्यसपछिको घटनाको यथार्थ विवरण पनि बाहिर ल्याउनु पर्ने र आफूले न्याय पाउनुपर्ने उनको दाबी छ । ‘मेरो सटरभित्रैको झोला निकालेर हिंडेपछि मैले माग्दै पछिबाट धकेलेको हुँ,’ उनले भने, ‘तर, त्यसपछि नगर प्रहरी अरिंगालझैं मैमाथि खनिए र कुटपिट गर्दै मेरो पसलबाट दर्जनौं ब्याग र अन्य सामान निकालेर हिँडे । त्यसको छानबिन र न्यायको माग गरेको छु ।’
नगरपालिकाले सूचना जारी गर्दा सडक पेटीमा राख्ने गरिएका सामग्री हटाउन सूचना जारी गरे पनि सनसेटको विषयमा केही नबोलेकाले तत्काल नहटाइएको उनको दाबी छ । नगर प्रहरीले अन्य पसलको सनसेट नउठाएको भए पनि धक्कामुक्कापछि उनको पसलको सनसेट निकालेर लगेको छ । सामाजिक संजालमा रायमाझीलाई गाली गर्दै नगरपालिकाको पक्षमा बहस गर्नेहरू पनि उत्तिकै छन् । नगरपालिकालाई गाली गर्नेहरू पनि देखिएका छन् ।
आफूले १३ वर्षदेखि व्यवसाय गरेको र त्यसबापतको वार्षिक ५ हजार व्यवसाय कर, मासिक २ सय सरसफाइ कर नियमित रूपमा नगरपालिकालाई बुझाउँदै आइरहेको उनले बताए । तर, नगरपालिकालाई सहयोग गर्दा पनि आफूले कुटपिट सहनु परेको र त्यसमाथि सामाजिक सञ्जालमा गाली गरिएको भन्दै दुःख व्यक्त गरे ।
बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले भने व्यवसायी रायमाझी नगर प्रहरीमाथि नै अचानक आक्रमणमा उत्रिएपछि सामान्य प्रतिवाद गरेको बताए । तर, प्रहरीले सटरभित्रबाट नभई फुटपाथलाई अवरोध हुने गरी राखिएका सामान मात्र उठाएको उनको दाबी छ । ‘हामीले कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक सूचनापछि माइकिङ पनि गरेर सबै नगरबासीलाई जानकारी दिएका थियौं, त्यसपछि पनि अटेर भएपछि केही सामान उठाएर सचेत गराएका हौं,’ उनले भने, ‘उठाएका सामानहरू सुरक्षित राखिएको र नगर प्रमुखको आदेश अनुसार सामान जफत वा फिर्ताको निर्णय हुनेछ ।’ नगर प्रहरीले कुनै पनि व्यक्ति विशेषको सामान नउठाएको र नगर कार्यपालिकाको निर्णयका आधारमा अघि बढेको उनले बताए ।
उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले नगरपालिकाले सडक सौन्दर्यकरण र व्यवस्थित बुटवल बजारका लागि फुटपाथ खाली गर्नेदेखि कुरूप बनाइएका इन्टरनेट केबल तार हटाउने अभियान सँगसँगै सुरु गरेको बताए ।








प्रतिकृया दिनुहोस्