July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

बुटवलमा ज्ञान आर्जनका लागि महायज्ञ

Advertisement

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा बैशाख ७ गते (सोमबार) देखि श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री भुवनेश्वरी भगवती मन्दिर सेवा समितिले आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि महायज्ञको तयारीबारे जानकारी गराएको हो ।

Advertisement

धेरैजसो महायज्ञ कुनै संस्थाको आर्थिक संकलनका लागि गर्ने प्रचलन रहे पनि यहाँ सञ्चालन हुने महायज्ञ विशुद्ध ज्ञान आर्जनका लागि भएको मन्दिर सेवा समितिले जनाएको छ । मन्दिर सेवा समितिका अध्यक्ष जीवनप्रसाद वझाले अर्थ संकलनका लागि नभएर ज्ञान आर्जनका लागि महायज्ञ आयोजना गरिएको भन्दै सहभागी भएर ज्ञान आर्जन गर्न धर्मानुरागीहरूलाई आग्रह गरे ।

अक्षय तृतीयाको दिनदेखि सुरु हुने श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा हरिहर सन्यास आश्रय देवघाट धामका पीठाधीश, नेपाल सन्त समाजका अध्यक्ष सन्त शिरोमणी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजबाट प्रवचन हुने अध्यक्ष वझाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा मन्दिरका निवर्तमान अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, उपाध्यक्ष अरूण श्रेष्ठ, सचिव रविन्द्रनाथ पंगेनी लगायतले २०६२ सालमा नेपाली वास्तु कलामा निर्मित मन्दिर पश्चिम नेपालकै ऐतिहासिक महत्वको रहेको भन्दै मन्दिरको प्रचारप्रसार जरुरी रहेकोमा जोड दिए ।

महायज्ञको कार्यक्रम अन्तर्गत बैशाख ७ गते सोमबार बिहान ७ बजे कलश यात्रा, दैनिक पाठपारायण बिहान ७ बजेदेखि ११ बजेसम्म, दैनिक भजन किर्तन बिहान ११.१५ देखि १२ बजे मध्यान्नसम्म, प्रत्येक दिनको १ बजेदेखि ४ बजेसम्म कथा प्रवचन, प्रत्येक दिन दिउँसो ४ बजे आरति तथा प्रसाद वितरण र साँझ ५ बजेदेखि ६ बजेसम्म नित्य भजनकिर्तन हुने जनाइएको छ ।